डा. इशान मल्ल
युरोलोजिस्ट
हेल्दी च्वाइस एस्थेटिक हस्पिटल
यौन दुर्वलता भनेको के हो ?
यौन इच्छा हुँदै नहुने, कम हुने, चरम हुने, शीघ्र स्खलन र स्खलनपछि पनि चरम सुखानुभूति नहुनेलगायत प्रवृत्तिलाई हामी यौन दुर्वलता (Sexual dysfunction) भन्ने गर्दछौँ । यसका पछाडि विभिन्न कारणहरू रहेका हुन्छन् ।
यी सबैमध्ये हाम्रो समाजमा कुनचाहिँ समस्या बढी छ ?
नेपाली समाजका पुरुषहरूमा सबैभन्दा बढी शीघ्र स्खलन (Premature Ejaculation) को समस्या देखिएको छ ।

शीघ्र स्खलन भनेको के हो ? कोही पुरुषले आफूमा शीघ्र स्खलनको समस्या छ भन्ने कुरा कसरी थाहा पाउने ?

सामान्यतया एक मिनेट भन्दा कम समयमा स्खलन हुनुलाई शीघ्र स्खलन भनिन्छ । तर, कसै–कसैको अवस्थामा पहिले लामो समयसम्म यौनक्रीडा गर्न सक्ने तर पछि आएर त्यो समय कम भई २–३ मिनेट मात्रै भएको छ र स्खलनलाई आफैंले रोक्न सकिँदैन भने त्यसलाई शीघ्र स्खलन भनिन्छ । यसका मुख्य कारण चिन्ता, डिप्रेसन, प्रोस्टाटाइटिस, हाइपरथाइराइडिज्म र अत्यधिक संवेदनशील लिङ्ग आदि हुन् । पछिल्लो समय साथै, मधुमेह (सुगर), पार्टरसँगको डर, पोर्नको प्रभावलगायतबाट पनि यो समस्या निम्तिरहेको देखिन्छ ।

हेल्दी च्वाइस एस्थेटिक हस्पिटलमा कुनचाहिँ समस्या लिएर आउने पुरुषको संख्या धेरै छ ?
हाम्रो हस्पिटलमा सबै भन्दा बढी लिङ्ग कडा नहुने र कडा भए पनि धेरैबेर नटिक्ने समस्या अर्थात् (Erectile Dysfunction- ED) को समस्या भएका पुरुषहरू आउने गर्नुभएको छ । यो समस्या भएकाहरूमध्ये ६०–७० प्रतिशतमा मनोवैज्ञानिक प्रभावका कारण उत्तेजना नभएको वा उत्तेजना भएर पनि धेरैबेर नटिकेको पाइएको छ । त्यसमा पनि अचम्मको कुरा युवाहरूमा यस्तो समस्या बढी देखिएको छ । २१ वर्षका युवा पनि लिङ्ग कडा भएन भनेर हामीकहाँ आइरहनुभएको छ ।
तुलनात्मक रूपमा युवाहरू बढी नै यौन क्षमता राख्छन् भनिन्छ, तर युवाहरूमा बढी समस्या देखिएको बताउनुभयो । यसको कारण के हुनसक्छ ?
यसको मूल समस्या भनेको गलत ‘एक्सपिरियन्स’ हो । युवायुवतीहरू सानै उमेरमा शारीरिक सम्पर्क स्थापित गर्दछन् त्यो पनि घरमा वा सुरक्षित स्थानमा नभइ होटेल वा बाहिर । यसरी पहिलो पटकको शारीरिक सम्पर्क डर र त्रासबाट गुज्रिएको हुँदा उहाँहरूको दिमागमा त्यसै अनुसारको ‘एक्सपिरियन्स’ बसेको हुन्छ । अनि हरेक पटकको यौन क्रियामा एक प्रकारको डर पैदा हुन गइ उहाँहरूमा यो समस्या बढेको उहाँहरूकै ‘सेक्सुअल हिष्ट्री’बाट पुष्टि हुँदै गएको छ ।
मान्छेको दिमागमा यससम्बन्धी जति तनाव बढ्दै गयो त्यति नै यौन उत्तेजना (Sexual arousal) प्रभावित हुँदै जान्छ । जति पनि समस्या भेटिएका छन् ती सबै कुनै न कुनै रूपबाट मनोवैज्ञानिक (Psychological effects) का कारण भएको देखिन्छ । मानिसको जीवनमा यौन जीवन पनि अति महत्वपूर्ण छ, यसलाई लाजका कारण लुकाउने र सामान्य सोच्नु हुँदैन । शारीरिक सम्पर्कका बेला मनोबल उच्च बनाउँदा यस्ता समस्या धेरै हदसम्म हटेर जान्छ ।
आफूमा यौन दुर्वलताको समस्या छ भनेर मानिसले कुनबेला थाहा पाउँछ ? समस्या हो कि होइन भनेर मापन गर्ने केही आधारहरू छन् ?
आफ्नो मर्दाङ्गी (मर्द) लाई कमजोर ठानिन्छ भनेर यस्ता समस्याहरू हामी कसैसँग शेयर गर्दैनौँ, समस्या भए पनि लुकाएर राख्छौँ । सामाजिक चेतना पनि छैन । धेरै जनामा यो समस्या छ, तर लुकाएरै राखिएको छ । जबसम्म लुकाएर राखिन्छ तबसम्म समस्या हो भन्ने कुरा पनि थाहा नपाउन सकिन्छ ।
शारीरिक सम्पर्क गर्न मन लाग्ने तर लिङ्ग कडा नहुने, कडा भइहालेमा लामो समय नटिक्ने, शीघ्रपतन, अतिउत्तेजना यी सबै यौन दुर्वलता हुन् । यदि यस्तो समस्या तपाइँसँग छ भने समयमै सम्बन्धित चिकित्सकसँग परामर्श गरी समाधानको उपाय अवलम्बन गर्नु राम्रो हुन्छ । जति सोच्यो त्यति नै गहिरो असर पर्ने हुन्छ । त्यसैले अनावश्यक कुरा धेरै नसोचौँ ।
सेक्स पार्टनर पाउँदा होस् या नपाउँदा पुरुषहरू अत्यधिकरूपमा हस्तमैथुन (masturbation) गर्ने गर्दछन् । के हस्तमैथुनले पनि यौन दुर्वलताको समस्या निम्त्याउँछ ?
यो सरासर गलत कुरा हो, हस्तमैथुनका कारण यौन दुर्वलताको समस्या निम्तिएको भन्ने कुरा अहिलेसम्म संसारको कुनै पनि अध्ययनले देखाएको छैन । हस्तमैथुन एक प्राकृतिक कुरा हो, यसले पुरुषको शुक्रकिटको गुणस्तर (Sperm Quality) बढाउने गर्दछ । तर, हस्तमैथुनका आ–आफ्नै तरिकाहरू हुन्छन् त्यसमध्ये कुनै–कुनै तरिकाले लिङ्गमा भित्री वा बाहिरी चोटपटक लाग्न सक्छ, त्यसबाटचाहिँ केही समस्या निम्तिन सक्छ, सचेत हुनुपर्छ ।
मैले आफ्नो पेसागत जीवनमा धेरै व्यक्तिहरूसँग अन्तरक्रिया गरेको छु । त्यसबाट हरेक मान्छेले फरक–फरक तरिकाहरू अपनाएर हस्तमैथुन गर्ने गरेको पाएँ । सामान्यतया हामीले बुझ्ने हातको साहाराबाट हो, तर उहाँहरूको कुरा सुन्दा त म छक्कै परेको छु । यद्यपि, उहाँहरूको त्यो कुरा सार्वजनिक सञ्चारमाध्यममा ‘शेयर’ गर्न सान्दर्भिक हुँदैन । तर, त्यसले वास्तविक जीवनमा पर्याप्त उत्तेजना (Stimulation) नदिएको अवस्थाहरू पनि मैले पाएको छु ।
धेरै हस्तमैथुन गर्दा लिङ्ग बाङ्गिने र पार्टनरसँगको शारीरिक सम्बन्धमा कम सन्तुष्टि हुन्छ भन्ने कुरा कत्तिको सत्य हो ?
यो सत्य हो, तर हस्थमैथुनकै कारण सबैको लिङ्ग बाङ्गो हुन्छ भन्ने हुँदैन । लिङ्ग बाङ्गिनु ‘पेरोनिज डिजिज’ हो । यो हस्तमैथुनका कारण भन्दा पनि ‘माइक्रो ट्रमा’ अर्थात् चोटपटकका कारण हुनसक्छ । धेरै कडा पाराले हस्तमैथुन गर्दा लिङ्गको भित्र भित्र चोट लाग्न सक्छ र त्यसबाट बाङ्गो हुन सक्छ । तर, यो भन्दैमा हस्तमैथुन गर्नै हुँदैन भन्ने होइन । विशेषगरी युवाहरूले समय–समयमा हस्तमैथुन गरेकै राम्रो हो ।
त्यसो हो भने यौन दुर्वलताको मुख्य कारणचाहिँ के हो त ?
मैले अगाडि पनि भनेँ, यौन दुर्वलताको मुख्य कारण मनोवैज्ञानिक असर (डर, चिन्तन, तनावलगायत) हो । यसका साथै पछिल्लो समय पोर्न भिडिओ पनि यसको कारक बनिरहेको छ । प्रविधिको विकाससँगै प्राय: हरेक मान्छेको पहुँचमा पुगेको मोबाइलहरूमा सहजै हेर्न र देख्न सकिने पोर्न भिडिओहरूले नेपाली समाजमा यौन दुर्वलताका समस्याहरू सृजना गरिरहेको छ ।
पोर्न एउटा चलचित्रजस्तैगरी बनाइन्छ जसलाई कयौँ टेक लिएर आकर्षक र उत्तेजितरूपमा तयार पारिएको हुन्छ । एक प्रकारले भन्ने हो भने त्यो काल्पनिकजस्तो पनि हो, त्यो काल्पनिक भिडिओ हेरेर वास्तविक जीवनमा त्यस्तै खोज्ने प्रवृत्ति छ, जुन सम्भव छैन । त्यहाँ हेरेकोजस्तो आफ्नो वास्तविक जीवनमा नपाउँदा मानिसहरू आफ्नो यौन जीवनलाई निराशातर्फ धकेलिरहेका छन् । जसका कारण यौन दुर्वलताजस्तो गम्भीर समस्याहरूबाट गुज्रनु परिरहेको छ ।
आफ्नो ‘सेक्स पार्टनर’सँग शारीरिक सम्पर्क राखिसकेपछि पनि हस्तमैथुन गरेर थप सन्तुष्टि प्राप्त गर्ने समस्याचाहिँ यौन दुर्वलता हो कि होइन ?
हो, यो पनि यौन दर्वलताकै एउटा समस्या हो । तर, यसलाई धेरै जटिलरूपमा लिइँदैन । आफ्नो पार्टनरसँग चाहेजति उत्तेजना र सन्तुष्टि नपाएको खण्डमा यस्तो गर्ने गरिन्छ । कहिलेकाँही पार्टनरमध्ये एक जनालाई शारीरिक सम्पर्क स्थापित गर्न मन लाग्ने र सोही समयमा अर्कोलाई नलाग्ने परिस्थिति पनि निर्माण भएको हुन सक्दछ, तै पनि उनीहरूले त्यो गरेका छन् भने त्यस्तोबेला चरम सुख प्राप्त नहुन सक्छ । त्यसलाई हस्तमैथुनद्वारा प्राप्त गर्ने गरिन्छ ।
यो समस्या आउन नदिन ‘सेक्स पार्टनर’को भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
पार्टनरबीच ‘ओपन कम्युनिकेशन’ गर्ने, एकअर्काको भावना बुझ्ने, मनका कुरा साझा गर्ने, प्राय: कुराहरू नलुकाउने, यौन क्रियाका समयमा पनि एकअर्काबीच ‘सपोर्टिभ रोल प्ले’ भयो भने चरम सुख प्राप्त गर्न सकिन्छ र शारीरिक सम्बन्धपछि हस्तमैथुनको साहारा लिनपर्ने अवस्था रहँदैन । मैले मेरो प्यासेन्टहरूलाई पनि यही कुरा भनिरहेको हुन्छु– अरुसँग लुकाए पनि आफ्नो पार्टनरबीच कुनै कुरा कहिल्यै नलुकाउनू । दुईजनाबीच खुलेर सम्वाद भयो भने कसरी–कसरी आनन्द लिन सकिन्छ त्यसबारे जानकारी प्राप्त गर्न सकिन्छ । पार्टनरले कस्तो क्रियाकलापमा रुची राख्छ त्यसैअनुसारको व्यवहार दुवै पक्षबाट भयो भने चाहेजति सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।
मनोवैज्ञानिकबाहेक अरु कुन–कुन कारणले यौन दुर्वलता हुन्छ ?
मधुमेह (डाइबेटिज) सबैभन्दा नराम्रो हो । भर्खरका (२०–२५ वर्ष) युवाहरूलाई पनि यसले प्रभावित बनाइरहेको देखिन्छ । डाइबेटिजले नसालाई असर पुर्याउँछ र ‘ब्लड फ्लो’लाई अवरोध पुर्याएर यौन उत्तेजनामा कमी ल्याउँछ । अर्को मुटुको समस्या, ‘स्पाइनल कर्ड इन्जुरी’, गम्भीर प्रकृतिका दुर्घटनाहरू, ‘एन्टि डिप्रेसन’ का ‘हाइ डोज’ औषधि र विभिन्न प्रकारका अन्य औषधिहरूको गलत सेवन र ‘अर्ग्यानिक कज’हरूका कारण पनि यौन दुर्वलता हुन्छ ।
बालबालिका हुँदै किशोरकिशोरी बनेपछि उनीहरूले हाम्रो समाजको हाउभाउ हेर्दै आफैं बुझेर यौनजन्य क्रियाकलापमा सहभागी हुँदै जान्छन् । तर, बुढेशकाल लागेपछि यौन क्षमता घट्दै वा हराउँदै जान्छ भनिन्छ । खासमा कुन उमेरपछि यौन इच्छा हराउँछ ?
यही उमेरपछि यौन इच्छा हराउँछ भन्ने कुनै परिधि छैन । मान्छे जबसम्म जीवित रहन्छ तवसम्म उसमा यौन चाहना पनि रहन्छ । तर, उसको यौन अङ्गहरूले काम नगर्नु एउटा पाटो हो, चाहना भने मर्दैन । यौन इच्छा छ, तर लिङ्ग कडा हुँदैन भनेर ८१ वर्षका वृद्ध पनि मकहाँ आउनुभएको थियो ।
त्यसो भए उपाय के हो त ?
लिङ्ग कडा नहुने र कडा भए पनि धेरैबेर नटिक्ने समस्या अर्थात् (Erectile Dysfunction) को अहिले धेरै उपचार विधि आइसकेको छ । यौनाङ्ग उत्तेजित नहुँदा औषधि सेवन गर्ने र त्यसले पनि भएन भने मेरो यौन जीवन नै सकियो भनेर चिन्ता गर्ने समय अब सकिएको छ । धेरै विकल्पहरू आइसकेका छन् । भायग्रा, टाडालाफिल, भार्डेनाफिल, अवानाफिलजस्ता औषधिहरू अन्तिम होइन, सुरूवात हो । चिकित्सकको सल्लाहमा सही समयमा सही ‘डोज’ सेवन गर्नुभयो भने यी औषधिले पनि राम्रोसँग काम गर्छ । यदि औषधिले पनि काम गरेन भने भ्याकुम्प इरेक्सन डिभाइस (भ्याकुम्प पम्प), कक रिङ्ग, इन्जेक्सन डिभाइस विधि, युरीथ्रल सपोर्टरी डिभाइस र पेनाइल प्रोस्थेसिस (इम्प्लान्ट) जस्ता अत्याधुनिक प्रविधिहरू आइसकेको छ ।
यीमध्ये सबैभन्दा प्रभावकारी र धेरै प्रयोगमा आइरहेको उपाय कुन हो ?
हेल्दी च्वाइस हस्पिटलमा आउनुहुने यौन दुर्वलताका विरामीलाई सकेसम्म हामी काउन्सिलिङबाटै ठिक पार्छौँ, भएन भने औषधिहरू सिफारिस गर्छौँ र त्यसबाट पनि भएन भने हामीले अगाडि उल्लेख गरेको उपकरणहरूको सहायता लिनु आवश्यक छ । उत्तेजना नहुनेहरूको हकमा भने धेरैले इम्प्लान्ट रोज्ने गर्नुभएको छ । जसले शतप्रतिशत ग्यारेन्टीका साथ सन्तुष्टि प्रदान गरिरहेको छ ।
यसको प्रयोग वा उपचार पद्दति कस्तो हुन्छ ?
लिङ्गभित्र राखिने सिलिकन रड डिभाइस पेनाइल प्रोस्थेसिस (इम्प्लान्ट) हो । यो ‘लास्ट’ र ‘बेष्ट’ उपाय हो । सर्जरीमार्फत राखिने यसको काम उत्तेजना गराउने मात्रै हो कुनै साइड इफेक्ट हुँदैन । यो राखिसकेपछि हाम्रो लिङ्गमा सधैं उत्तेजना आइरहेको हुन्छ अर्थात् कडा भइरहन्छ । जसलाई साधारण तरिकाले लुकाउन समस्या हुन्छ, तर हातको सहायताले सहजै लुकाउन सकिन्छ । एकपटक राखिसकेपछि ‘लाइफ लङ’ हुन्छ । शरीरमा बाहिरको केही भाग राख्दा ‘कम्प्लिकेसन’ आउनसक्छ, तर ‘प्रिकसन’ अपनाएरै उपचार गरिन्छ । त्यसैले डराउनुपर्ने कारण कुनै छैन ।
तपाइँले भायग्रा, टाडालाफिल, भार्डेनाफिल, अवानाफिलजस्ता सर्वाधिक प्रयोग हुने यौनवद्र्धक औषधिहरू सेवन गर्नु नराम्रो होइन भन्नुभयो । तर, यसका थुप्रै ‘साइड इफेक्ट’हरू हुन्छन् रे नि ?
औषधिहरू समस्या समाधानका लागि सेवनयोग्य नै बनाइएका हुन्छन्, सेवन गर्नु नराम्रो होइन । तर, हामीले भोक लागेको बेलामा खाइने खाना वा खाजाजस्तो पनि होइन । हरेक औषधिको प्रयोग विधि र सेवन गर्ने परिमाणहरू आ–आफ्नै हुन्छन् । त्यसको पहिचान सामान्यतया प्रयोगकर्ताले गर्न सक्दैनन्, त्यसकारण सम्बन्धित विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको सल्लाहमा सेवन गर्नुपर्छ । मनलाग्दी प्रयोगले तपाइँको आवश्यकता पूरा नहुने मात्र होइन अनेक समस्याहरू निम्तिन पनि सक्छ ।
जस्तै: यस्ता औषधिको गलत प्रयोगबाट रक्तचाप कम हुने र मुटुमा असर पुर्याउनेलगायत समस्या देखिन पनि सक्छ । कतिपय यौन दुर्वलताको समस्या मुटु रोग वा मधुमेहको सुरूवाती सङ्केत पनि हुनसक्छ, कतिपय अन्य रोगको औषधि सेवन गरिरहनुभएकाहरूले यो सेवन गर्न मिल्दैन त्यसकारण यौन दुर्वलताको महसुस भएको खण्डमा एकपटक सम्बन्धित चिकित्सकको सल्लाह लिनु सुरक्षित र श्रेयष्कर हुन्छ भनेर हामीले भन्दै आएका हौँ ।
यस्ता औषधिहरूको लत बस्ने डर पनि देखिएको छ नि ?
यी औषधिको एउटा मात्रै काम हो, यौन उत्तेजना बढाउने । लिङ्गमा रगत तानेर उत्तेजना भर्ने काम यो औषधिको हो । लत लाग्ने वा अरु केही हुने हुँदैन, यो हाम्रो गलत बुझाई हो । यदि लत बस्ने डर छ भने ‘प्रेसक्रिप्सन’ लिएर सेवन गर्नुहोस् ढुक्क हुनुहोस् र चाहेको फाइदा पनि लिनुहोस् ।
बजारमा त आयुर्वेदिक भन्दै दर्जनौँ औषधिको विज्ञापनहरू देखिन्छ/सुनिन्छि । ती औषधिचाहिँ कस्ता हुन् ? के तपाइँहरूले पनि सिफारिस गर्नुहुन्छ ?
अप्रमाणित औषधि हामी प्रचार र सिफारिस गर्दैनौँ । अध्ययनबिनाका कतिपय औषधिहरूको ‘साइड इफेक्ट’ बढी हुनसक्छ ।
यौन दुर्वलता हो कि भनेर हेल्दी च्वाइस एस्थेटिक हस्पिटलमा आउने विरामीको के–के जाँच गर्नुहुन्छ ?
मैलेचाहिँ सबैभन्दा धेरै समय ‘हिस्ट्री टेक’ मा खर्च गर्छु र सकेसम्म त्यसैबाट समस्या पहिचान गर्न खोज्छु । धेरै कुरा त्यसैबाट थाहा हुन्छ । त्यसबाट पत्ता लागेन भने लिङ्गको भिडिओ एक्स–रे गरी नसाबाट कति रगत आइरहेको भन्ने कुरा (blood flow) हेर्छौँ । हर्मोन, सुगर, थाइरोइड, तौल, कोलेस्ट्रोललगायत थुप्रै कुरा हेर्छौँ ।
एउटै विषयमा विशेषज्ञहरूकै फरक–फरक धारणा र व्याख्याहरू आउने गरेका छन् । द्विविधामा परेका सर्वसाधारणले कसको कुन कुरा पत्याउने ?
स्वास्थ्य क्षेत्रकै कुरा गर्दा, पछिल्लो समय विशेषज्ञताभित्र पनि थप विशेषज्ञता हासिल गर्ने क्रम बढेको छ । जसले गर्दा विशेषज्ञहरूको ज्ञानको दायरा फराकिलो भइरहेको छ । यो सन्दर्भमा फरक–फरक त म भन्दिनँ तर थप व्याख्या, तर्क र तथ्यहरू आउनु स्वाभाविक हो । नचिनेको मान्छेको हातबाट त सकेसम्म पानी नै नखानु भन्ने मान्यता हाम्रो समाजमा छ भने त्यसैगरी नचिनेका व्यक्तिहरूको कुरामा ध्यान नदिनू अर्थात् तपाइँले चिन्नुभएको मान्छेहरूलाई मात्र फलो गरी विश्वास गर्न आग्रह गर्दछु ।
हेल्दी च्वाइसमा उपलब्ध अन्य सेवाहरूको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न ?
यहाँ एस्थेटिकसम्बन्धी करिब करिब सम्पूर्ण सेवाहरू उपलब्ध छन् । न्यूट्रेशन र कपाल प्रत्यारोपणबाट सुरू भएको हाम्रो सेवा पुरुषको यौनसम्बन्धी उपचारसम्म आइपुगेको छ । अहिले डम्र्याटोलोजीसम्बन्धी सम्पूर्ण उपचार हुन्छ, प्लास्टिक सर्जरी, राइनोप्लास्टिक, गाइनोक्लोजीको पनि भेजिनोप्लास्टिकलगायत सुविधा उपलब्ध छन् ।
साथै पुरुषको बाँझोपनसम्बन्धी उपचार पनि हामीले सुरू गरेका छौँ त्यो पनि डोनर्स स्पम (शुक्रकिट) बाट नभइ आफ्नै स्पमबाट । शुक्राणु नभेटे पनि सिधै अण्डकोषबाट खोजेर पनि हामी गर्न सक्छौँ । त्यसमा ३० प्रतिशत मौका छ । एस्थेटिकसम्बन्धी जे–जे चाहिन्छ, जुन अन्य अस्पतालमा छैन त्यस्तो सेवामा केन्द्रित भएर अघि बढिरहेका छौँ । लुकाइएको र लुकेको समस्याहरू उजागर गर्दै उपचारपछि सन्तुष्ट पार्नु हाम्रो मूल लक्ष्य हो ।