काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिसँगै नेप्से ६७.७८ अंकले बढेको छ ।
दुई ठूला दलबीच स्थिर सरकार निर्माण गर्ने र निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधन गर्ने सहमतिको प्रभाव नेप्सेमा परेको हो । अघिल्लो दुई सातामा नेप्से ६० अंकले घटेको थियो । यो साता भने नेप्सेमा सुधार आएर परिसुचक २११९.७० अंकमा पुगेको छ ।
अहिल्लो हप्ताको तुलनामा बजार पुँजीकरण १ खर्ब ८ अर्बले बढेर यो हप्ता ३३ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सरकार परिवर्तन हुने सम्भावनाले सेयर बजारमा उत्साह छाउँदा परिसूचक बढेको बताएकी छिन् । अहिले लगानीकर्ताको मनोबल खस्किरहेको अवस्थामा बजारमैत्री अर्थमन्त्री पाउने आशाले लगानीकर्ता खुशी छाएको पनि आकलन गरिएको छ ।
साताको कारोबारलाई हेर्दा आइतबार नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ बिन्दुमा झ¥यो । सोमबार १६.२९ अंक बढेर २०५३.३८ अंकमा पुग्यो । लगातार तीन कारोबार दिन घटेको बजारमा सोमबार भने हरियाली छाएको थियो ।
मंगलबार सेयर बजारमा निकै उतारचढावका साथ उल्लेख्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक २.२९ प्रतिशत बढेर २१००.४३ बिन्दुमा पुग्योे । दुई ठूला दलबीच सरकार बनाउने सहमति भएपछि लगानीकर्ताले त्यसलाई सकारात्मक रुपमा लिँदा मंगलबार सेयर बजारमा सुधार आएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । परिसूचक १५.४६ अंक बढेर २११९.६९ बिन्दुमा पुगेको छ । गत बिहीबार ३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३ अर्ब ६० करोड रुपैयाँमात्रै कारोबार भयो । परिसूचक बढे पनि सोमबार कारोबार रकम घट्यो । सोमबार २ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भयो ।
मंगलबार सोमबारको तुलनामा कारोबार रकम पनि बढ्यो । सो दिन ४ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार दुई पटक सकारात्मक सर्किट लागेर अन्तिममा लयमा बजार फर्केको थियो ।
बुधबार नेप्से ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा बन्द भयो । त्यस दिन परिसूचक सामान्य बढे पनि कारोबार रकम उल्लेख्य बढ्न पुग्यो । बुधबार ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । साताको अन्तिम कारोबार दिन बिहीबार करिब साढे ६ अर्ब बराबरको कारोबार भएको छ ।
सातामा सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनीको मूल्य ७.०६ प्रतिशत वृद्धि हुँदा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.३० प्रतिशत घट्यो । सोमबार हिमालय उर्जा विकास कम्पनीको सबैभन्दा बढी ९.७४ प्रतिशत बढ्दा नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
मंगलबार हिमालयन डिष्टिलरीको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशत वृद्धि भयो भने उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ६.४ प्रतिशतले घट्यो ।
बुधबार मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९६ प्रतिशतले बढ्यो । बुधबार मञ्जुश्री फाइनान्ससँगै सेन्ट्रल फाइनान्स, आईसिएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य उच्च दरमा बढ्यो । बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आइतबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको थियो । सोमबार पनि यस कम्पनीकै सर्वाधिक सेयर खरिदबिक्री भयो । मंगलबार भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर बढी कारोबार भयो ।
बुधबार कुल कारोबार रकममा सर्वाधिक हिस्सा मञ्जुश्री फाइनान्स लिमिटेडले ओगट्यो । बिहीबार भने सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकले लिएको थियो ।
FACEBOOK COMMENTS