काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार बढेर फेरि २७ सय विन्दुनजिक पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको हो ।
योसँगै कारोबारमा समेत उत्साह देखिएको छ । पहिलो दिन नै ९ अर्ब रूपैयाँ नाघेको छ । २ करोड कित्ता सेयर बिक्री हुँदा ९ अर्ब ४७ करोड रूपैयाँको किनबेच भएको हो ।
नेप्सेका अनुसार आइतबार १७६ वटा शेयरको मूल्य बढ्दा ६३ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ ।
बढेको दिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अर्थात् आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका सेयरधनीले १० प्रतिशत आम्दानी गरे ।
लगानीकर्ताले क्रमशः २७०.५०, २३८.१०, ७३.६० र ५२.५० रूपैयाँ प्रतिशेयर आम्दानी गरेका हुन्। गार्डियन माइक्रो लाइफको शेयर पनि आज ९.९९ प्रतिशतले बढेको छ ।
तर आज ङादी पावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाउनुपरेको छ । यसबाहेक एनएलजी इन्स्योरेन्स, वाराही हाइड्रोपावरलगायतको शेयरमा गिरावट आएको छ ।
कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड रूपैयाँ, सीईडीबी होल्डिङको ३१ करोड रूपैयाँ, हिमालयन पावर पार्टनरको ३० करोड रूपैयाँ, ङादीको २२ करोड रूपैयाँ र सप्तकोशी डेभलपमेन्टको १८ करोड रूपैयाँको शेयर किनबेच भएको छ ।
पहिलो कारोबार दिन म्युचुअल फन्ड र निर्जीवन बीमा सूचक राताम्य रहे पनि बाँकीमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS