काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा २३.१८% धेरै हो । गत वर्ष बैंकले ३४ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३०.४३% ले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ८० करोड ८५ लाख रुपैयाँ थियो ।
सञ्चालन नाफा पनि २३.९९% ले बढेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज पनि ७१.७३% ले बढेर १४ करोड ८ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद मुनाफामा सुधार आएको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब २८ करोड रुपैयाँ भन्दा धेरै छ ।
यस्तै, जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.४०% रहेको छ । यसको खराब कर्जा अनुपात पनि ०.९८% बाट बढेर १.३१% पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS