काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौमा पाँच अर्ब नौ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ ।
नेपालले भदौमा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ ।
दुई माध्यमबाट विद्युत् निर्यात गरिएको थियो । द्विपक्षीय सम्झौतामार्फत भारतका हरियाणा र बिहार राज्य तथा बंगलादेशमा विद्युत् निर्यात गरियो । विद्युत् बजारमार्फत पनि बिजुली निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
द्विपक्षीय सम्झौतामार्फत भदौमा ४२ करोड १६ लाख २१ हजार २८८ युनिट विद्युत् निर्यात भएको छ । यसबाट तीन अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ रुपैयाँबराबरको कारोबार भएको छ ।
विद्युत् खरिदबिक्री बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट बिजुली निर्यात भएको छ । यसबाट एक अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ रुपैयाँबराबरको कारोबार भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द छ । अरू जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका निम्ति भारतीय पक्षलाई अनुरोध समेत गरिसकेको प्राधिकरणले जनाएको छ ।