काठमाडौं । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ ।
‘विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो’– बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ।