काठमाडौं । नेपालमा पहिलो पटक ‘स्काइवेल पाइलट समिट’ सम्पन्न भएकाे छ ।
नेपाली पाइलटहरूलाई संगठित गर्ने उद्देश्यले हालै गठन गरिएको पाइलट एसोसिएसन अफ नेपालले नेपालमा पहिलोपटक पाइलट समिट आयोजना गरेको हाे ।
‘स्काइवेल पाइलट समिट–२०२५’ नाम दिइएको यो समिट शनिबार (६ वैशाख) मा राजधानीको होटल मल्लमा सम्पन्न भएको हो । समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
पाइलटहरूको व्यावसायिकता र जनचेतना अभिवृद्धि गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पेसागत बनाउने उद्देश्यले समिट आयोजना भएको थियो । सोही अवसरमा पाइलट एसोसिएसन अफ नेपालको औपचारिक सुरुवात पनि गरिएको छ ।
समिटको टाइटल स्पोन्सरका रूपमा स्काइवेल नेपाल रहेको थियो । स्काइवेल चीनमा उत्पादन हुने फाइभ–स्टार सेफ्टी रेटिङ प्राप्त इलेक्ट्रिक एसयूभी हो जुन हाल ६५ देशमा निर्यात हुँदै आएको छ ।
यसअघि टाइटल स्पोन्सरसिप सम्बन्धी सम्झौता कार्यक्रममा जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले पाइलट जस्तो संवेदनशील पेसासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यात्रु सुरक्षामा उच्च मापदण्ड अपनाउने स्काइवेल र पाइलट दुवैको साझा उद्देश्यले सहकार्य सम्भव भएको बताए ।
पाइलट एसोसिएसनका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काइवेलले सुरुदेखि देखाएको साथ र भरोसा उल्लेखनीय रहेको बताउँदै यात्रु सुरक्षामा केन्द्रित दुवै संस्थाबीचको सहकार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरे ।
समिटमा एसोसिएसनले सन् २०२५ भरि सञ्चालन गर्ने हवाई सुरक्षा, जनचेतना तथा व्यावसायिकता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गर्ने जनाइएको छ ।
पाइलट एसोसिएसन अफ नेपालले भविष्यमा पाइलटहरूको अधिकार, तालिम, कार्यस्थल सुरक्षा र राष्ट्रिय उड्डयन नीति निर्माणमा समेत सक्रिय रूपमा भूमिका खेल्ने जनाएको छ ।
FACEBOOK COMMENTS