खोटाङ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७, टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका-३ बाँसपानीकी ५६ वर्षीया माया गुरूङ, उनका छोरा २८ वर्षीय पूजन गुरूङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२, जालपा बस्ने मायाकी बहिनी ४५ वर्षीया तारा गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७:३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरूङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६:३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी गराएका थिए । सुमो चालक सुनसरीको इनरूवा नगरपालिका बस्ने २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सुमोमा चालकसहित चार जना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
‘सुमो दुर्घटनाका बारेमा आज बिहान मात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।’
उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनै जनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।
FACEBOOK COMMENTS