काठमाडौं । काठमाडौं म्यारियट होटलको एसियाली रेस्टुरेन्ट एडामामेमा ‘द एसेन्स अफ जापान’ नामक जापानी खानाको विशेष उत्सव सुरु भएको छ ।
अक्टोबर ५ देखि १८ सम्म सञ्चालन हुने उत्सवमा जापानका विभिन्न क्षेत्रका मौलिक परिकार र खानासँग जोडिएको संस्कृति प्रस्तुत गरिनेछ ।
‘खानामार्फत जापान भ्रमण’ मुख्य विषय बनाइएको उत्सवमा जापानको उत्तरमा रहेको होक्काइडोदेखि दक्षिणको क्युशुसम्मका क्षेत्रीय स्वाद प्रस्तुत गरिनेछ । टोकियो, योकोहामा, नागोया, क्योटो, ओसाका, कागावा, हिरोसिमा, हाकाता, फुकुओका, ओइटा र नागासाकीका स्थानीय परिकारसमेत उत्सवमा समेटिएका छन् ।
उत्सवमा हातले बनाइने रोल सुसीको विशेष स्टेसन, ताजा सासिमी, जापानबाट आयात गरिएको साके, विभिन्न प्रकारका हाइबल र परम्परागत माचा मिठाइलगायत परिकार उपलब्ध हुनेछन् ।
काठमाडौंमा तीन वर्षदेखि कार्यरत सेफ क्योहेइले जापानबाटै ल्याइएका सामग्री प्रयोग गरी क्षेत्रअनुसारका जापानी परिकार प्रस्तुत गर्नेछन् । उनका अनुसार, खानालाई केवल भोजनका रूपमा नभई जापानी संस्कृति र परम्परा अनुभव गर्ने माध्यमका रूपमा प्रस्तुत गरिएको छ ।

एडामामेमा सेफ क्योहेइका हजुरबुबाबाट प्राप्त पुराना सामग्री तथा उनको व्यक्तिगत बिरुवासमेत सजावटमा राखिएको छ । यसले रेस्टुरेन्टलाई जापानी घरजस्तो वातावरण दिने प्रयास गरिएको होटलले जनाएको छ ।

‘द एसेन्स अफ जापान’ अक्टोबर ५ देखि १८ सम्म काठमाडौं म्यारियट होटलको एडामामेमा सञ्चालन हुनेछ ।