काठमाडौं । कर छलीका विषयमा तीन वटा निकायले संयुक्तरुपमा अनुगमन गर्ने भएका छन् । आज आइतबार आन्तरिक राजस्व विभागमा विभागका साथै भन्सार विभाग र राजस्व अनुसन्धान विभागले संयुक्त बैठक बसेर अनुगमन गर्ने निर्णय गरेको जनाएका छन् ।
बैठकमा सहभागी तीनवटै निकायले राजस्व चुहावट तथा कर छलीसँग सम्वन्धी संयुक्तरुपमा अनुगमन गर्ने सहमति गरेका छन् । राजस्व चुहावटका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने विषयमा सहमति गरेका छन् ।
आज भएको छलफलमा राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भंसार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एकआपसमा अन्तर आवद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान गर्ने विषयमा सहमति भएको छ । यस्तै भन्सार जाँचपास पछि परीक्षण, बजार अनुगमन गर्दा एकअर्कालाई सहयोग गर्ने विषयमा सहमति भएको छ ।
राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गर्ने, बजार अनुगमन तथा गस्ती परिचालनमा जोड दिने, विषयमा सहमति भएको छ ।
शंकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारवाहीको दायरामा ल्याउने, राजस्व चुहावटका नयाँ प्रबृत्तिहरु पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्नेजस्ता विषयमा सहमति भएको छ ।
खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सुक्षम रुपमा अनुगमन गर्ने विषयमा सहमति भएको छ ।
FACEBOOK COMMENTS