काठमाडौँ । हामीमध्ये धेरैको बिहानीको सुरुवात चियाबाटै हुन्छ । दिउँसो पनि साथिभाई इष्टमित्र ,आफन्त, भेटघाटको बाहाना चिया नै हुन्छ । कसै कसैले त सुत्ने बेला पनि चिया खाने गरेको देखिन्छ ।
नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन । वयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन् । चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने कडीका रूपमा समेत लिने चलन छ । यस्तै केही पारखीलाई त चियाले व्यवसायतिरै तानेको पनि छ ।
जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मटका चिया आदि गल्लीगल्लीमा देखिने गरेका छन् ।
यिनैमध्येको एक हो ‘पोखरेल मटका चिया’ । राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रूपमा स्थापित गरेका छन् ।
सिंहदरबारको पूर्वी गेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ । मटका मात्रै हैन १९ थरीका चियाको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ । नेतादेखि कलाकार, वकिल, पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल पहिलो राेजाइ नै बनेको छ ।
पुर्ख्याैली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडिको सङ्घर्ष भने लामो छ । १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गरेका उनले विस २०५७ देखि अनामनगरमा चिया पसल सुरु गरेका थिए । युरोपमा साथीभाइको व्यापार व्यवसायमा जोडिने उद्देश्यले विदेश गएका शर्माले विदेश र नेपालको लगानीको तुलना गरे तर विदेशमा जोखिम देखियो । तर, डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तरिका सिक्ने अवसर भने पाए अहिले त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा ‘पोखरेल मट्का चिया’ स्थापित गरेका छन् । उनले भने, ‘विदेशमा जोखिम देखेँ र नेपालमै लगानी गरेँ ।’
शर्माले चियाका पारखीको ध्यान खिच्न चिया पसल र सामाजिक सञ्जालमा विभिन्न पोष्टहरु गर्छन् । ‘चियामा रोइलो होइन रमाइलो गरौँ । एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मट्का चियाले अनामनगमा छुट्टै छाप छोडेको छ ।
उन्नाइस थरीका चिया
पोखरेलले भने मटका ‘दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ,’ फरक फरक मसलाको समिश्रण, त्यसैले उनि एउटा कपको रु २५ देखि १३० सम्म लिनुहुन्छ ।
उनले अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आउने गरेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनले बताए । शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताए ।
करिब २० लाख लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ । छिट्टै कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
विगत २५ वर्षदेखि चिया बेच्दै आएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाएका छन् । उनले ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि खुवाउने गर्छन् । सिबी अधिकारी / रासस
FACEBOOK COMMENTS