काठमाडौं । नेपालको फिनटेक क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
फिनटेक क्षेत्रको छाता संस्था ‘फिनटेक एलायन्स नेपाल’ ले ललितपुरको हेरिटेज गार्डेनमा आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) तीन दिनसम्म यो भव्य एक्स्पो सञ्चालन गर्ने घोषणा गरेको हो ।
पहिलो संस्करणको उत्साहजनक सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा ६५ भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गराउन दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ समेत निर्माण गरिने आयोजकले जनाएको छ ।
नेपालको बैंकिङमा सेवा सेन खोजिरहेका केही विदेशी फिनटेक कम्पनी आउन निश्चित भइसकेको र भारत, बंगलादेश, श्रीलंका लगायतका देशका फिनटेक कम्पनीलाई एक्स्पोमा ल्याउने प्रयास रहेको बताए ।
फिनटेक एलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले नेपालको फिनटेक अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको बताए ।
‘फिनटेकप्रति अहिले सबैको चासो बढेको छ । नेपालमा फिनटेकको अवस्था कस्तो छ र हामी कहाँ छौँ भन्ने जानकारी दिनु नै यस एक्स्पोको मुख्य उद्देश्य हो,’ उनले भने, ‘हामी आर्टिफिसियल इन्टेलिजेन्स र नवप्रवर्तनमा भइरहेका उपलब्धिहरू देखाइरहेका छौँ । यो एक्स्पो नेपालमा भइरहेको फिनटेक इन्नोभेसन र ‘स्यान्डबक्सिङ’ को एउटा ठूलो अवसर पनि हो । नेपालमा क्युआर एडप्सन धेरै अगाडि बढिसकेको छ । अबका दिनमा नेपालका फिनटेक कम्पनीले विकास गरेका बैंकिङ सफ्टवेयर र लेन्डिङ टेक्नोलोजीलाई नेपालमा मात्र सीमित नराखी विश्व बजारमा लैजान सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ।’
एक्स्पोका मुख्य आकर्षणहरू
एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजी जस्ता आधुनिक समाधानहरू प्रदर्शनीमा राखिनेछन् । विभिन्न कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाहरूको ‘अफिसियल प्रोडक्ट लन्च’ र ‘रिभिल’ समेत गर्नेछन् ।
सहभागी स्पोन्सर, बैंक तथा फिनटेक कम्पनीहरूबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि पहिलो दिन ‘नेटवर्किङ डिनर’ आयोजना गरिनेछ । यसपटक पहिलो पटक विशिष्ट अतिथि र प्रिमियम पास वाहकहरूका लागि ‘प्रिमियम लाउन्ज’को व्यवस्था समेत गरिएको छ ।
५ हजारभन्दा बढी दर्शक र टिकटको व्यवस्था
एक्स्पोमा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, सरकारी प्रतिनिधि, लगानीकर्ता र प्रविधिप्रेमी विद्यार्थी गरी ५ हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको छ ।
‘खल्ती’लाई आधिकारिक टिकटिङ पार्टनर तोकिएको यस कार्यक्रममा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । फिनटेक क्षेत्रमा योगदान पुर्याउनेहरूलाई ‘कम्प्लिमेन्टरी पास’ पनि उपलब्ध गराइनेछ ।
प्रदर्शनीका लागि प्रति बुथ ७५ हजार रुपैयाँ (फ्यानका कर्पोरेट सदस्यलाई ५० प्रतिशत छुट) र अन्तर्राष्ट्रिय प्रदर्शकका लागि ७५० अमेरिकी डलर शुल्क तोकिएको छ ।
हाल ५३ वटा कर्पोरेट सदस्यहरू आबद्ध रहेको फिनटेक एलायन्स नेपालले यस एक्स्पोलाई नेपालको डिजिटल अर्थतन्त्र निर्माणमा एउटा कोसेढुङ्गा साबित हुने विश्वास लिएको छ ।