काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ । केहि दिनअघि मोबाइलले भिडियो खिच्दै बाइक चलाउदा उनी दुर्घटनामा परेका थिए । सो दुर्घटनामा उनलाई सामान्य चोट समेत लागेको थियो । सो भिडियो उनी आफैले सामाजिक सञ्जालमा राखेका थिए । सो घटनापछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो । प्रहरीले भनेको छ- ‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।’ साम्पाङको सो भिडियो सार्बजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो । कैयौंले सांसदलाई कारवाही नगर्ने भन्दै प्रहरीमाथि प्रश्न समेत उठाएका थिए ।
२- नेपाली काँग्रेसका पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारविरुद्धअन्तर्घात गरेको आरोपमा उनीहरूमा कारबाही प्रक्रिया अघि बढाएको हो । समितिले खड्कासँगै जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । समितिले उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध संगठित रूपमा अन्तर्घात गरेको, कार्यकर्तालाई भ्रमित बनाएको तथा विपक्षी दलका उम्मेदवारलाई सहयोग पुर्याएको आरोप उल्लेख गरिएको छ । अनुशासन समितिले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघन हुने ठहर गर्दै अन्तिम अवसरका रूपमा स्पष्टीकरण मागेको छ ।
३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध नागरिकता सम्बन्धी कागजातमा किर्ते तथा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगरप्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थरकी एक महिलाकी छोरीलाई आफ्नै छोरी रुविना श्रेष्ठ देखाएर जन्मदर्ता तथा नेपाली नागरिकता प्रमाणपत्र दिलाएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा सिंहले वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलसँग मिलेमतो गरी अर्काकी छोरीलाई आफ्नी छोरीका रूपमा देखाएर जन्मदर्ता प्रमाणपत्र तयार गराएको अख्तियारको निष्कर्ष छ । आयोगका अनुसार सिंह स्वयं सूचक बनेर फाराम भरी वडा कार्यालयमा पेस गरेका थिए । त्यसकै आधारमा २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र जारी गरिएको थियो। पछि सोही प्रमाणपत्रका आधारमा नागरिकता सिफारिस तयार गरी २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठका नाममा नेपाली नागरिकता प्रमाणपत्र जारी गरिएको बताइएको छ ।

अख्तियारले जन्मदर्ता प्रमाणपत्र जारी गर्ने क्रममा जानीजानी गलत सरकारी लिखत तयार गरिएको, सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरिएको तथा सम्बन्धित कागजात लुकाउने, नष्ट गर्ने र प्रमाण मेटाउने कामसमेत भएको जनाएको छ । यसै प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका तत्कालीन संयोजक तथा उपसचिव पुष्कर राना र सदस्य तथा शाखा अधिकृत परशुराम पोखरेलमाथि पनि आरोप लगाइएको छ ।

उनीहरूले नागरिकता प्रकरणको वास्तविक तथ्य लुकाएर गलत प्रतिवेदन तयार गरेको, घटनाको गम्भीरता ढाकछोप गरेको तथा अनुसन्धान हुनुपर्ने विषयलाई कमजोर बनाउने प्रयास गरेको आयोगको आरोप छ । अख्तियारका अनुसार सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयबाट नष्ट गरिएको विषयसमेत प्रतिवेदनमा उल्लेख भए पनि त्यसबारे आवश्यक कानुनी कारबाही सिफारिस नगरिएको पाइएको छ । उक्त घटनामा संलग्न सबै प्रतिवादीविरुद्ध प्रचलित कानुनबमोजिम सजायको माग गर्दै अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

४- अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो । मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ । यसैक्रममा सोमबार गण्डकी अस्पताल, पोखरासँग पनि सम्झौता भएको छ ।
सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारले निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन् । सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनुपर्नेछ । मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग यसअघि नै सम्झौता भएको छ । उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशपछि अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भइसकेको छ । आवश्यक तयारी पूरा भएपछि सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन लागिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाइ छ ।
५- पछिल्लो पटक इरानसँग मिसाइल हानाहान गर्न शुरु भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई राजनीतिक फाइदा हुने भएको छ । इरानसँग पुनः चर्किएको द्वन्द्व राजनीतिक रूपमा फाइदाजनक बनेको विश्लेषण गरिएको हो । न्यूयोर्क टाइम्सले यस घटनाले नेतन्याहूलाई आफ्ना असन्तुष्ट समर्थकमाझ आफू अमेरिकी दबाबमा नझुक्ने नेता भएको सन्देश दिन मद्दत गरेको विश्लेषण गरेको छ । रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोध गर्ने वा कम्तीमा त्यस्तो देखाउने रणनीति नेतन्याहूका लागि राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । केही महिनापछि हुने चुनावअघि सार्वजनिक मत सर्वेक्षणमा उनी पछि परिरहेका छन् र पराजयको जोखिम बढ्दै गएको बताइएको छ। केवल एक साताअघि ट्रम्प र नेतन्याहूबीच टेलिफोन वार्ताका क्रममा तनावपूर्ण संवाद भएको थियो ।
त्यसपछि ट्रम्पले सार्वजनिक रूपमा उक्त वार्तामा आफूले नेतन्याहूलाई ‘पागल’ समेत भनेको स्वीकार गरेका थिए । विश्लेषकहरूका अनुसार नेतन्याहूको ट्रम्प प्रशासनले अघि बढाइरहेको सम्भावित शान्ति सम्झौताप्रति असन्तुष्टि रहेको छ । उनले त्यस्तो सम्झौताले इजरायलको सुरक्षा नीतिमा असर पार्न सक्ने र लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलले चाल्ने सैन्य कदमहरू सीमित हुन सक्ने आशंका गरेका छन् । इरानसँगको नयाँ तनावले नेतन्याहूलाई आन्तरिक राजनीतिक दबाबबाट केही राहत दिएको भए पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाले इरानमाथि आक्रमण नगर्ने स्पष्ट निर्देशन दिएपनि इजरायलले सोमबार इरानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ । इजरायलले इरानले गरेको आक्रमणपछि जवाफी आक्रमण गरेको हो । तर इरानले भने इजरायलले लेबनानमाथि आक्रमण जारी राखेमा फेरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
६ – गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालीबजार, मितज्यू, काजी रोल नम्बर१ र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ ।
फिल्मले अहिलेसम्म ८ करोड ७८ लाख ५ हजार १९८ कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ९८ हजार २२७ टिकट बिक्री गरेको छ । त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा ४ करोड २८ लाख ११ हजार ४४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५४ हजार १३६ टिकट बिक्रि भएका छन् । त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३१ लाख ११ हजार ८५९ कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४५ हजार ५३३ टिकट बिक्री भएका छन् । त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ३८ हजार ९८५ कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ४० हजार कमाएको छ । त्यस्तै जेठ १५ गतेदेखि रिलिज भएको रोल नम्बर १ ले ९४ लाख ९१ हजार ६८० कमाई गरेको छ भने यस फिल्मले ३१ हजार ७८८ टिकट बिक्री गरेको छ ।
७- नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका हुन् ।
महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ । उनले विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेको भन्दै यसमा थप निर्णयको आवश्यकता नरहेको र नियम अनुसार प्रक्रिया अनुसार गर्न निर्देशन दिएका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।
८- लुम्बिनी प्रदेश सरकारका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जसपाबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् । जसमा तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट मन्त्री बनाइएकोमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने आपत्ति जनाएको छ । सर्वोच्च अदालतले समेत जसपा नेपाललाई मान्यता दिएको अवस्थामा मुख्यमन्त्रीले आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ ।
९- भारतले अफगानिस्तानविरुद्ध टेस्ट खेल जितेको छ । टेस्टको तेस्रो दिन भारतले अफगानिस्तानलाई एक इनिंग र ३०० रनले पराजित गरेको हो । टेस्टको पहिलो इनिंगमा १५२ रनमा अल आउट भएपछि फलोअनमा परेको अफगानिस्तान दोस्रो इनिंगमा ११२ रनमा अलआउट भएको थियो । यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले पहिलो इनिंगमा ६ विकेट लिए भने दोस्रो इनिंगमा एक विकेट लिएका छन् । अब भारत र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका छन् । एकदिवसीय सिरिजको पहिलो खेल जुन १३ मा हुने छ ।
१०- नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए । यस प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।
११- नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० मा कारोबार भएको थियो । आज फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १३.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.१४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २० करोड ४ लाख बराबर कारोबार भएको छ भने लक्ष्मी बैंक डिभेन्चरको १७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
१२- चिनियाँ राष्ट्रपति सी जीङपीङ सात वर्षपछि दुर्लभ भ्रमणका लागि सोमबार उत्तर कोरिया पुगेका छन् । राजधानी प्योङयाङ विमानस्थलमा उत्तर कोरियाली नेता किम जोंग उन र उनकी पत्नी री सोल जुले सी जिनपिङ र उनकी पत्नी पङ लियुआनलाई स्वागत गरेका थिए ।दुईदिने राजकीय भ्रमणका क्रममा प्योङयाङमा भव्य स्वागत समारोह आयोजना गरिएको थियो । किम इल सुङ चोकमा आयोजित कार्यक्रममा घोडसवार सुरक्षाकर्मी, हजारौं सर्वसाधारण, झण्डा र फूलसहितको विशेष प्रदर्शन गरिएको थियो । स्वागत समारोहमा २१ तोपको सलामीसमेत दिइएको थियो । यस वर्षको सी जिनपिङको यो पहिलो विदेश भ्रमण हो ।
यो भ्रमण केही साताअघि उनले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै स्वागत गरेपछि भएको हो । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिले परिवर्तन गर्न नसक्ने बताएका थिए । उनले दुई देशको सम्बन्ध अटुट र दीर्घकालीन रहेको उल्लेख गरेका छन् । यो भ्रमणलाई चीनले उत्तर कोरियासँगको ऐतिहासिक तथा रणनीतिक सम्बन्ध पुनः बलियो बनाउने अवसरका रूपमा लिएको विश्लेषण गरिएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरिया र रुसबीच सैन्य तथा राजनीतिक सम्बन्ध नजिकिँदै गए पनि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक तथा कूटनीतिक साझेदार मानिन्छ ।
सी जिनपिङ प्योङयाङ पुग्नुअघि उत्तर कोरियाली नेता किम जोङ उनका गतिविधिले पनि अन्तर्राष्ट्रिय ध्यान तानेका थिए । भ्रमणको एक दिनअघि उनले एक प्रमुख हतियार उद्योगको निरीक्षण गर्दै विभिन्न प्रकारका ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र उत्पादन क्षमता विस्तारबारे जानकारी लिएका थिए । यसअघि गत साता किमले आणविक हतियार निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने नयाँ कारखानाको निरीक्षण गर्दै देशको आणविक शक्ति तीव्र गतिमा विस्तार गर्ने योजना रहेको बताएका थिए ।
१३- विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपश्चात एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म विपक्षी दलले संसद अवरोध गर्ने जानकारी गराएका हुन् । उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए। उहाँहरुले हामी दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको उनको भनाई छ। सभापति लामिछानेले बैठकमा भारत भ्रमणका बारे ब्रिफिङ गरेका थिए भने समसामयिक राजनीतिका विषयमा छलफल गरेका थिए ।
संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल भएको थियो । बैठकमा लामिछानेले आवश्यक परे सदनमा आफूले सम्बोधन गर्ने र परराष्ट्रमन्त्रीले समेत विषय स्पष्ट गर्ने प्रस्ताव राखेपनि विपक्षी दलहरुले अस्वीकार गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नियमावली पारितको विषयलाई लिएर अवरुद्ध भइरहेको छ । जसका कारण बजेटमाथि छलफल प्रारम्भ नगरी झण्डै एकहप्ता बैठक स्थगित गरिएको थियो । विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित भएर अभिव्यक्ति बारे स्पष्ट गर्न र माफी माग्नुपर्ने माग गरिरहेका छन् ।
१४- जनमत पार्टीका अध्यक्ष सिके राउतले सीमाको रक्षा मधेशीले गरेको बताएका छन् । जनमत पार्टीले सोमबार माइतीघरमा गरेको प्रदर्शनका क्रममा बोल्दै राउतले सीमामा लड्ने र सीमाको रक्षा गर्ने नै मधेशी रहेको बताएका हुन् । उनले भने- ‘तपाईँहरू खाली काठमाडौंमा बसेर बोल्नु मात्रै हुन्छ, सीमा रक्षा भनेकै मधेशीले गरेको छ, कुनै नेपाली सेना, प्रहरी, राजामहाराजा वा शासकले होइन ।’ उनले लिम्पुवाधुरा र लिपुलेक राजा महाराजा र सशकले बेचेको आरोप लगाउदै मधेशीको हातमा शासन भएको भए लिपुलेकको अवस्था नआउने समेत दाबि गरेका छन् ।
१५- फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित सोक्सक्सार्गेन क्षेत्रमा १२ जनाको मृत्यु भएको छ । यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, साराङ्गानी र जनरल सान्तोस सहरसहित चार प्रान्त र एक सहरमा फैलिएको छ ।
स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार उक्त क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण दक्षिणी फिलिपिन्समा दुई दर्जनभन्दा बढी भवनमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमध्ये अधिकांश व्यापारिक प्रतिष्ठान रहेका जनाइएको छ । भूकम्पको केन्द्रविन्दुनजिक रहेको जनरल सान्तोस सहरमा भवनहरूमा चर्को क्षति पुगेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ । अधिकारीहरूले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् ।
१६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्बदलीय बैठकमा वैदेशिक सम्बन्धको विषयमा परिपक्क व्यबहार देखाउन सुझाव दिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले आफुले वैदेशिक सम्बन्धको विषयमा परिपक्कता देखाउन सुझाव दिएको बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र लामिछानेले भारत भ्रमणका क्रममा विगतको बोझ बोक्दैनौं भन्ने विषयले परिपक्कता नदेखाएको टिप्पणी गरे । उनले देश चुनाव हार्नेहरुको पनि भएको बताउदै सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने अवस्था आउन नदिन धारणा राखेको बताए । लामिछानेले बोलाएको बैठकमा अन्य दलका सभापतिहरु भने सहभागी नभएर प्रतिनिधि पठाएका थिए ।
१७- राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए । उनले संसदीय समिति छानबिन गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने भन्दै भन्सारको कर्मचारीलाई करको दर हेरफेरको जानकारी नहुने स्पष्ट गरे ।
१८- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४९०५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।
१९- डेनमार्कका चर्चित फुटबल खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै फेरि एकपटक ढलेका छन् । युरो कप २०२१ मा हृदयाघातका कारण मैदानमा ढलेको झण्डै पाँच वर्षपछि उनी पुनः खेलका क्रममा बेहोस भएका हुन् । गएराती युक्रेनविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको ६५औँ मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा लडेका थिए । उनी ढल्नासाथ चिकित्सक टोली मैदानमा पुगेको थियो। उपचारपछि उनी आफैँ हिँडेर एम्बुलेन्ससम्म पुगेका थिए । डेनमार्क फुटबल संघले टोलीका चिकित्सक मोर्टेन बोएसेनको भनाइ उद्धृत गर्दै एरिक्सनको अवस्था स्थिर रहेको जनाएको छ । चिकित्सक बोएसेनका अनुसार एरिक्सेन केही समयका लागि बेहोस भए पनि छिट्टै होसमा आएका थिए । उनको शरीरमा जडान गरिएको मुटुको विद्युतीय उपकरणले अपेक्षाअनुसार काम गरेको प्रारम्भिक रूपमा देखिएको छ ।
घटनापछि उनलाई ओडेन्से विश्वविद्यालय अस्पतालमा थप परीक्षणका लागि भर्ना गरिएको छ । चिकित्सकहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण गरिरहेका छन् । सन् २०२१ जुन १२ मा फिनल्यान्डविरुद्धको युरो कप खेलका क्रममा एरिक्सनलाई मैदानमै हृदयाघात भएको थियो । त्यसबेला चिकित्सकहरूले तत्काल उद्धार गर्दै उनको ज्यान बचाएका थिए । पछि एरिक्सनले आफू करिब पाँच मिनेटसम्म मृत अवस्थाजस्तै रहेको बताएका थिए । त्यस घटनापछि उनको शरीरमा मुटुको धड्कन नियन्त्रण गर्ने विशेष विद्युतीय उपकरण जडान गरिएको थियो । चिकित्सकहरूको अनुमति पाएपछि उनले पुनः व्यावसायिक फुटबल खेल्न थालेका थिए ।
आइतबारको खेलमा प्रसारण गरिएका दृश्यहरूमा एरिक्सनले छाती समातेपछि मैदानमा ढलेको देखिएको थियो । उपचारका क्रममा टोलीका खेलाडीहरूले उनको वरिपरि घेरा बनाएर गोपनीयता कायम गरेका थिए । एरिक्सनलाई मैदानबाहिर लगिएपछि डेनमार्क र युक्रेनका खेलाडीहरूले एकअर्काको हात समातेर ऐक्यबद्धता प्रदर्शन गरेका थिए । घटनापछि खेल तत्काल स्थगित गरिएको थियो र पछि रद्द गरिएको घोषणा गरियो । अस्पतालमा रहेका एरिक्सनले आफू ठीक रहेको सन्देश टोलीका खेलाडीहरूलाई पठाएको चिकित्सक बोएसेनले बताएका छन् । उनका अनुसार एरिक्सन निरन्तर चिकित्सकीय निगरानीमा रहेका छन् र थप परीक्षणको नतिजा पर्खिरहेक छन् ।
२०- तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले जुलाई महिनाका लागि तेल उत्पादन बढाउने निर्णय गरेको छ । यस निर्णय अनुसार सदस्य देशहरूले दैनिक १ लाख ८८ हजार ब्यारेल अतिरिक्त तेल उत्पादन गर्न पाउने भएका छन् । यो निर्णय अनलाइन बैठकमार्फत गरिएको हो । उक्त बैठकमा साउदी अरब, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत धेरै देशहरूको सहभागिता रहेको थियो । ओपेक प्लसका अनुसार यो कदम तेल बजारमा स्थिरता कायम राख्न र बढ्दो मूल्य नियन्त्रण गर्नका लागि उठाइएको हो । तर विज्ञहरूको भनाइमा केवल उत्पादन बढाउने घोषणा मात्रले ठूलो असर नपर्ने बताइएको छ। उनीहरूका अनुसार वास्तविक समस्या होर्मुज क्षेत्रमा जारी तनाव र द्वन्द्वका कारण तेल आपूर्तिमा भइरहेको अवरोध हो ।