काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच लाखभन्दा बढी आप्रवासीको वैधता खारेज गर्ने निर्णय गरेका छन् ।
ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूलाई दिइएको अस्थायी वैधता खारेज गर्ने निर्णय गरेको हो ।
ती आप्रवासीहरूको वैधता २४ अप्रिलमा सकिने भएकाले उनीहरूलाई त्यसअघि नै अमेरिका छाड्न अमेरिकी सङ्घीय सरकारले सूचना जारी गरेको छ ।
अमेरिकामा ५ लाख ३० हजार आप्रवासीहरूलाई पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सीएचएनभी नामक कार्यक्रममार्फत भित्र्याएको थियो । यसरी भित्र्याइएका आप्रवासीहरूमध्ये कति जनाले अमेरिकामा रहने वैकल्पिक कानुनी मान्यता प्राप्त गरेका छन् भन्ने विषय हालम्म स्पष्ट भने छैन ।
यो कार्यक्रम कानुनी रूपमा आप्रवासनको मार्ग खोल्ने उद्देश्यले सन् २०२२ मा पूर्वराष्ट्रपति जो बाइडेनले सुरु गरेका थिए । सुरुमा यो भेनेजुएलाका नागरिकहरूका लागि मात्र ल्याइएको थियो । तर, पछि अन्य देशहरू पनि जोडिए ।
ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि कार्यक्रम निलम्बित गरिदिएका छन् ।
FACEBOOK COMMENTS