काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिनु सुखद् भएको बताका छन् ।
आज अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताए । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बीच मन्त्रालयमा भेटघाट भएको हो ।
भेटमा अर्थमन्त्री डा।वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए । द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए ।
‘तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ’ अर्थमन्त्री वाग्लेले भने,‘यसले नेपालको पर्यटनलाई अर्को उचाई दिनसक्छ ।’
नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौँ बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे । लगानी सुरक्षा र प्रर्वद्धनका लागि आवश्यक पूर्वाधार एवम् कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्ताहरूलाई दिए ।

‘सरकार तपाईंहरूको लगानीको सुरक्षाका लागि प्रतिवद्ध छ । व्यवसाय विस्तार गर्न चाहिने हवाई र स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,’ अर्थमन्त्रीले भने, ‘तपाईंहरू नेपालको ब्रान्डिङ गर्नुहोस् । मलाई लाग्छ अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ ।’

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्वस्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए ।

नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिवद्धता पनि जनाए ।
‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद् सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भने ।
भेटमा सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताए । नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उहाँले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताए ।