दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका करिब चार सय जना श्रमिकले आज पनि धर्ना कार्यक्रम जारी राखेका छन् ।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि केही दिनयता नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका छन् ।
आन्दोलनरत उनीहरूले आज आयोजनाको सिस्नेरीमा रहेको अडिट–२ मा धर्ना दिएको धर्ना कार्यक्रममा संयोजक जीवन मगरले जानकारी दिए । नेपाली श्रमिकहरू आन्दोलित भएपछि दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको छ ।
आफूहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूले बताएका छन् । कम्पनीमाथि दबाब सृजना गर्न उनीहरूले ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दै आएका छन् ।
सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि फागुन २८ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पारिएको सह–संयोजक मदन श्रेष्ठले बताए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।
उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच गत फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।
उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न/बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।
नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।
यसअघि उनीहरूले आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म र्याली आयोजना गरेका थिए ।
FACEBOOK COMMENTS