काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरबमा वार्ता हुने बताएका छन् ।
उनले उक्त बैठक ‘अर्थपूर्ण’ हुने आशा पनि व्यक्त गरेका छन् ।
जेलेन्स्की खाडी राष्ट्रमा रहे पनि यो वार्तामा उनकाे सहभागिता भने हुने छैन । उनले युक्रेन यथाशीघ्र स्थायी शान्तिकाे प्रयासमा रहेको बताएका छन् ।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्ने ‘रूपरेखा’ बारे छलफल गर्न चाहेको बताएका छन्।
गत शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच कडा विवाद भएको थियो, जहाँ ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नरहेको बताएका थिए ।
यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्ने निर्णय गरेको छ र गुप्तचर जानकारी बाँड्न पनि बन्द गरिसकेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस घटनाप्रति दुःख व्यक्त गर्दै युक्रेनको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।
बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट एक पत्र प्राप्त गरेको बताए, जसमा ‘माफी’ र ‘कृतज्ञता’ समावेश रहेकाे बताइएकाे छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि व्यापक हमला गरेको थियो, जसपछि अहिले करिब २० प्रतिशत युक्रेनी भूभाग उसको कब्जामा छ ।
FACEBOOK COMMENTS