एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेका छन् ।
गत हप्ता कार्यभार सम्हालेका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गरेको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।
गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो । तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका सर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।
यस हप्ता पेरिस र लन्डनको भ्रमण गरिरहेका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए । “क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ”, उनले भने । जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भने ।
उनले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताए ।
यस वर्षको जी–७ अध्यक्षता गर्ने क्यानाडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ । ट्रम्पले मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामको प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ ।
FACEBOOK COMMENTS