काठमाडौं, जेष्ठ १६ – कोभिडको दोस्रो लहरसँगै अक्सिजनको माग बढ्दो छ । कतिपय कोभिडका बिरामीले अक्सिजन नपाएरै जीवन गुमाउनुपरेको छ । तर, त्यही जीवनदायी अक्सिजन भने सिरहा अस्पतालमा उपयोग हुन सकेको छैन ।
सदरमुकाम सिरहा बजारस्थित जिल्ला अस्पतालमा दुई र लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा एउटा अक्सिजन प्लान्ट छन् । जिल्ला अस्पतालको दुई प्लान्टबाट दैनिक ३६ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । एक सिलिन्डरमा ४६ लिटर अक्सिजन हुन्छ ।
यो हिसाबले ती प्लान्टबाट दैनिक १ हजार ६ सय ५६ लिटर अक्सिजन उत्पादन भइरहेको छ । त्यही अनुपातमा लहानस्थित अस्पतालबाट समेत अक्सिजन उत्पादन भइरहेको छ । तर प्लान्टसँगै जडान हुनुपर्ने रिफिलिङ प्लान्ट (अक्सिजन भर्ने उपकरण) स्थापना नगरिँदा अस्पतालबाहिरका सेवाग्राहीका लागि अक्सिजन आपूर्ति हुन सकेको छैन ।
दुवै अस्पतालभित्र भने रिफिलिङ प्लान्ट नभए पनि पाइपलाइनबाटै कोभिडका बिरामीहरूलाई अक्सिजन आपूर्ति भइरहेको जनाइएको छ । ‘प्लान्टबाट उत्पादन भएको अक्सिजन सिधैं ट्यांकीमा भण्डारण हुन्छ र सोही ट्यांकीबाट पाइपलाइनमार्फत बिरामी रहेको बेड बेडमा आपूर्ति हुन्छ,’ जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले भने, ‘यो प्रणाली एकदमै झन्झटिलो छ, रिफिलिङ प्लान्ट भएको भए ट्यांकीमा रहेको अक्सिजन सिधैं सिलिन्डरमा हालेर अस्पतालभित्र र अस्पतालबाहिरका सेवाग्राहीहरूकहाँ पुर्याउन सकिन्थ्यो ।’
मेसु डा. यादवका अनुसार, सिरहा अस्पतालमा रहेका दुईवटा प्लान्टबाट सो अस्पतालका ६४ वटा र लहान अस्पतालमा रहेको एउटा प्लान्टबाट सो अस्पतालका ३० वटा कोभिड बेडमा अक्सिजन आपूर्ति भइरहेको छ । पाइपलाइनको व्यवस्था नभएको कारण ती दुवै अस्पतालमा रहेका गैरकोभिड बेडमा डिलरसँगै खरिद गरेर ल्याइएको सिलिन्डरबाट अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ ।

रिफिलिङको समस्याका कारण सरकारी अस्पतालहरूले गैरकोभिड बेडमा समेत खपत हुने अक्सिजन खरिद गर्नुपर्ने बाध्यता त छँदै छ, सरकारी अस्पतालबाहेक जिल्लाका अन्य अस्पतालका बिरामीहरूले समेत अक्सिजन प्रयोग गरेबापत महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । यो समस्याको समाधानका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रदेश सरकारसँग हार गुहार नगरेको त होइन तर प्रदेश सरकारबाट ठोस जवाफ नआएपछि डीसीसीएसीले अन्य स्रोत खोजिरहनुपरेको छ ।

डीसीसीएमसी सिरहाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले रिफिलिङ प्लान्टका लागि जिल्ला प्रशासन कार्यालयकै बजेटबाट टेन्डर आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘सिरहा अस्पतालको अक्सिजन प्लान्टबाट केही दिनमा नै अक्सिजन भर्न सुरु हुन्छ तर लहान अस्पतालको लागि भने बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘लहानका लागि अहिलेसम्म प्रदेश सरकारकै आशामा छौं, हेरौं के हुन्छ, भएन भने अन्य स्रोत पनि खोज्नुपर्लाजस्तो छ ।’