काठमाण्डौं– गतवर्षको तुलनामा उद्योगको सङ्ख्या वृद्धि भएको छ ।
सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महिनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् ।
उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए ।

यस्तै, कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउँछन् । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, उनले भने ।

नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उनको भनाइ छ ।
पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो ।
गत वर्षको छ महिनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ ।
रासस