काठमाडौं,चैत १७- चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ ।
नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएका छन् ।
उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् भने ।
के–के आए सामग्री

सरकारले चीनबाट खरिद गरी ल्याएका सामग्रीमा प्रोटेक्टिभ गग्जेल्स पाँच हजार थान, क्लोरिन चार हजार, गाउन १० हजार, ग्लोभ्स एक लाख, नाइन्टिन फाइभ र एफएफपीटू मास्क ५० हजार, थर्मामिटर एक हजार थान छन् ।

यसैगरी प्रोटेबल पीसीआर मेसिन ५, कीट २० हजार, रिएजेन्ट पीसीआर १० हजार, प्रिमिएर प्रोब मास्टर मिक्स, आरएनए कीट, भीटीएम १० हजार, ¥यापिड डाइग्नोस्टिक कीट ७५ हजार थान खरिद गरेर ल्याइएको छ । डा। देवकोटाले चीनका केही सहयोगी संस्थाले कोरोना परीक्षण गर्ने कीटसहित व्यक्तिगत सुरक्षाका सामग्री र परीक्षणमा प्रयोग गरिने मेडिकल सामग्री सहयोग गरेको जानकारी दिए ।