काठमाडौँ – नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ ।
संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक मेगा सिटी तथा देशभरिमा कम्तीमा ५० स्मार्ट सिटीको माग गरिएको छ ।
प्रधानमन्त्रीसमक्ष माग प्रस्तुत गर्ने क्रममा संयोजक ब्याञ्जुले कर्मचारी समायोजन ऐन २०७४ जारी भए पनि सरकारले कार्यान्वयन नगरेकाले स्थानीय तहलाई सेवा व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए।
ध्यानाकर्षणपत्रमा भनिएको छ, “गएको वर्ष चैत २८ गतेसम्ममा स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने विषयगत कार्यालय अहिलेसम्म नभएकाले तिनको हस्तान्तरण हुनुपर्ने, एकीकृत सम्पत्ति कर संकलन गर्न सरकारको आर्थिक विधेयक २०७५ ले बाधा गरेकाले त्यसलाई फुकाउनुपर्ने, स्थानीय जनप्रतिनिधिको मर्यादा कायम गर्न र जनप्रतिनिधिको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने देखिन्छ ।”
FACEBOOK COMMENTS