राजेशकाजी श्रेष्ठ
पूर्व अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
अध्यक्ष, सल्लाहकार परिषद्
नेपाल चेम्बर अफ कमर्सका वूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको जन्म २०१८ साल साउन १७ गते काठमाडौंमा भएको हो ।
२०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भई नेपाल चेम्बरमा प्रवेश गरेका उनी विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ मा पहिलोपकट अध्यक्ष निर्वाचित भएका थिए । आम चेम्बर अभियन्ताहरूको रोजाइका कारण उनी विभिन्न समयमा तीन पटक अध्यक्ष बनेर चेम्बर अभियानलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने अवसर प्राप्त गरे ।
अध्यक्षमा बहाल रहेकै समयमा २०६२ सालमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री बनेका उनलाई नेपालको चेम्बर आन्दोलनका एक महत्वपूर्ण हस्तीका रूपमा लिइन्छ । उनले तीन पटकसम्म नेतृत्व गरेको नेपाल चेम्बर अफ कमर्सले ७५औँ वर्षको सुनौलो यात्रा तय गरेको छ । सोही अवसरमा चेम्बरले विभिन्न रचनात्मक कार्यक्रमहरूसहित हीरक जयन्ती मनाएको छ । यसै सेरोफेरोमा रही श्रेष्ठसँग हामीले केही फरक कोणबाट कुराकानी गर्ने प्रयत्न गरेका छौँ । प्रस्तुत छ, हाम्रा प्रतिनिधि ज्योति जीसीले पूर्व अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश–
तपाईंको व्यावसायिक र चेम्बर यात्रा कसरी सुरू भयो र दुवै क्षेत्रको यात्रा कस्तो रह्यो ?

हाम्रो बुबाले भारतबाट सामान ल्याएर नेपालमा होलसेल पसल चलाउनुहुन्थ्यो । पानी राख्ने ठूलो–ठूलो जर्किनदेखि, कालो पाइप, स्टोभ, कापी, कलम, सिसाकलम, काँचको गिलासलगायत थुप्रै उपभोग्य वस्तुहरू इण्डियाबाट ल्याएर बुबाले यहाँ होलसेल गर्नुहुन्थ्यो । क्याम्पसबाहेकको समय बुबाको व्यवसायमा सघाउन जान्थेँ । त्यस क्रममा ‘तिमीले पनि यही व्यवसाय गर्ने हो’ भन्दै मलाई उहाँले कतै–कतै पैसा उठाउने काममा पठाउनुहुन्थ्यो । अह्राएको काम गरे पनि पैसाहरू एकमुष्ट जोड्ने, कति खर्च, कति आम्दानी वा नाफाघाटा के भयो भनेर निकाल्न चाहिँ त्यति आउँदैनथ्यो ।

०३५/०३६ सालतिरको कुरा हो, म पब्लिक युथ क्याम्पसमा बी.कम पढ्दै थिएँ । त्यो क्याम्पसमा त्यतिबेला धेरैजसो व्यापारीहरूकै छोराछोरी हुन्थ्यौँ । त्यतिबेला मेरा साथीहरू पासपोर्ट (राहदानी) बनाउने र बैंकक (थाइल्याण्ड) जाने भनेर हल्लाखल्ला गर्थे, त्यो के रहेछ भनेर मैले चासोपूवर्क हेरिरहेको थिएँ । एकदिन ज्याठास्थित हाम्रो घरनजिकै बाहिर म बसिरहेको थिएँ, दुई जना साथी आउनुभयो । उहाँहरू आफू बैंकक र हङकङ जाने कुरा गर्नुभयो, मलाई पनि जान मन लाग्यो । घरमा सल्लाह गरेर त्यसको एक हप्तापछि नै हामी साथीहरूसहित हङ्कङ गयौँ ।

हङ्कङ पुगेर त्यहाँको व्यापार–व्यवसाय देखिपछि मलाई पनि व्यापारमा लागिहालौँजस्तो भयो । त्यहीँबाट मैले व्यवसाय सुरू गरेको हुँ ख्यालख्यालैमा । त्यसपछि एक्लै हङ्कङ, बैंककलगायत ठाउँहरूमा गएर सामान हेरेर ल्याउने बानी गरेँ, बुबाले पनि प्रोत्साहन गर्नुभयो । त्यसक्रममा अरु कसैले नल्याएको सामान मैले ल्याउँथे र आफ्नो मूल्यमा बेच्ने गर्दथेँ । तर, त्यस्तो सामान बडो मेहनतपूर्वक खोज्नुपथ्र्यो । कतिपय सामान त म जहाँ किन्यो त्यहीँ बेचिदिन्थेँ पनि ।
व्यापारीको छोरा भएर व्यापारमा लाग्नु हाम्रा लागि कुनै नौलो कुरा थिएन, तर इमानदारपूर्वक व्यवसायमा लाग्नु महत्वपूर्ण कुरा थियो । व्यापारीको छोरा हुँ भनेर हाहा..हुहु… गरेर हिँडेको भए आजको स्थिति बन्ने थिएन । फजुल खर्च नगर्ने मेरो बानी र सोचले नै आज मलाई यो स्थानमा उभ्याएको महसुस हुन्छ ।
२०४४ सालको अन्तिमतिर होला सायद, सुरेन्द्रवीर मालाकार चेम्बरका लागि भोट माग्न आउनुभएको थियो । तर, त्यो वर्ष उहाँ बिरामी पर्नुभएको कारण निर्वाचन प्रतिस्पर्धा गर्न सक्नुभएन । अर्को कार्यकालमा फेरि आउनुभयो, त्यतिबेला उहाँले भोट मात्र माग्नुभएन मलाई समेत कुनै पदमा उठ्न आग्रह गर्नुभयो । ‘म भर्खर–भर्खर व्यवसायमा जम्न लागेको छु, अहिले उठ्दिनँ तर तपाइँका लागि के–के गर्नुपर्छ सबै गर्छु’ भनेर ढुक्क बनाएँ । ढुक्क मात्र बनाइनँ काम पनि गरेँ । त्यहाँ हुनुभएका कार्यकारिणी सदस्य, अध्यक्षलगायत पदाधिकारीहरूका आफन्त–नातागोताहरूकै प्रोक्सीहरू निकै मेहनतपूर्वक ल्याइदिएँ । सबैको केही न केही काम गरिदिएको भएर मलाई धेरैले विश्वास गर्नुहुन्थ्यो र त्यो प्रोक्सी ल्याउन मलाई सफलता मिल्यो । त्यतिबेल सुरेन्द्रवीर मालाकार र म जितेर चेम्बर पसेका हौँ ।
व्यापारी मात्र होइन नातागोता र इष्टमित्रको बीचमा चुनाव लड्नुपर्ने भएकाले असाध्यै धेरै दबाब हुन्थ्यो । आफ्नै आफन्तको विरुद्धमा भोट माग्नु चानेचुने कुरा थिएन । ती सबै कुरालाई छिचोल्दै हामी चेम्बरको यात्रा प्रारम्भ गर्न सफल भयौँ । त्यसपछि आफन्तीहरूकै बीचमा चुनाव गर्नुपर्ने अवस्थालाई हामीले सर्वसम्मतिको बाटो पनि अपनायौँ र दुई–तीन कार्यकालपछि सर्वसम्मत नेतृत्व छान्ने काम गर्यौँ । हामीले गरेको राम्रो कामलाई हेरेर सम्पूर्ण माहोल हाम्रो पक्षमा बन्दै गयो । २९ जनाको केन्द्रीय कार्यकारिणी समितिमा सात जनामात्रै विपक्षी अरु सबै पक्षमा देखिनुभएको थियो ।
समय वित्दै जाँदा ईश्वरलाल श्रेष्ठ अध्यक्ष हुँदा म महासचिव बनेँ, महेश अग्रवाल अध्यक्ष बन्दा उपाध्यक्ष र त्यसपछि अध्यक्ष बनेँ । यसरी २०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भएर चेम्बरमा प्रवेश गरेको थिएँ र विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ मा पहिलोपटक अध्यक्ष निर्वाचित भएँ, त्यसपछि पनि सबैको आग्रहमा तीनपटक अध्यक्ष बनेँ । अध्यक्षमा बहाल रहँदै गर्दा २०६२ सालमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री बन्ने अवसर प्राप्त भयो र चेम्बरको सक्रिय राजनीति छोडेँ । त्यसपछि इन्टरनेशनल चेम्बर र नेपाल–चाइना चेम्बर अफ कमर्सजस्ता संस्थाहरू स्थापना गरी अभियानलाई निरन्तरता दिँदै आएको छु ।
तपाइँ त चेम्बरको पूर्व अध्यक्ष, त्यो पनि पटक–पटक । त्यही चेम्बर अहिले ७५ वर्षमा दौडिरहेको छ । यसको विकासक्रम र गौरवमय इतिहासलाई फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ?
२००७ सालमा हरिकृष्ण श्रेष्ठले वणिक मण्डलको नाममा यो संस्था स्थापना गर्नुभएको थियो । चेम्बरको जन्मपछि नेपालमा २००८ सालमा पहिलोपटक बजेट आएको थियो । वणिक मण्डललाई २००९ सालमा अखिल व्यापार संघ भनेर नामाकरण गरिए पनि उक्त नाम धेरैले मन पराएनन् र सोही वर्ष नेपाल चेम्बर अफ कमर्स नामाकरण गरिएको थियो । तत्कालीन समयमा उक्त संस्थाको अध्यक्ष लोकनाथ जोशी हुनुहुन्थ्यो । लोकनाथ जोशी चेम्बर अध्यक्ष रहेकै बेलामा जिल्लाहरूमा उद्योग वाणिज्य संघ खुल्न थालेको थियो । ती संघहरूलाई मिलाएर महासंघ बनाउने अवधारणा विकास भयो । २०२२ सालमा उद्योग वाणिज्य संघ गठन हुँदै अहिलेको महासंघ बनेको हो । संयोग र रोचक कुरा नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष एउटै व्यक्ति लोकनाथ जोशी हुनुहुन्थ्यो ।
सदस्य हुँदै अध्यक्षसम्म बन्नुभयो । तपाईँले आफ्नो कार्यकालमा सामना गरेका सबैभन्दा कठिन र ऐतिहासिक मोडहरू के–के थिए, तिनलाई कसरी स्मरण गर्नुहुन्छ ?
मेरो कार्यकालमा त्यस्तो कठिन परिस्थिति भनेर मैले कहिल्यै अनुभूत गरिनँ । काम गर्ने सन्दर्भमा हुने सामान्य तनावबाहेक अरु समस्या झेल्न परेको मेरो सम्झनामा छैन । मैले कसैलाई प्रश्न उठाउने ठाउँ नै दिइनजस्तो लाग्छ, त्यसले मलाई गर्व महसुस हुन्छ । भनेको काम र गर्नुपर्ने काम तत्काल गरिहाल्थेँ, समय व्यवस्थापनमा अब्बल थिएँ, जहाँ जतिबेला पुग्नुपर्ने हो वा जुन काम जतिबेला गर्नुपर्ने हो समयमै गर्थेँ । सबैलाई समेट्दै सल्लाह गरेर समूहमा बसेर काम गर्थेँ । त्यसकारण पनि अप्ठ्यारो परिस्थिति मैले झेल्न नपरेको होला । नेतृत्वले अरुको मन जितेर काम गरेपछि प्रश्न उठाउने ठाउँ हुँदैन भन्ने मेरो जीवनको स्पष्ट मान्यता छ ।
नेपाल चेम्बर उद्योग व्यवसायको क्षेत्रमा जेठो संस्था हो, तर कुनै समय नेपालमा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मात्र दबदबा हुँदा चेम्बर छायाँमा परेको चर्चा गरिन्थ्यो । त्यो छायाँबाट कसरी मुक्त गरियो ?
एफएनसीसीआईको छायाँमा नेपाल चेम्बर अफ कमर्स रहेको भन्ने कुरा मलाई विश्वास लाग्दैन । म अध्यक्षमा आउनु भन्दा अगाडि पनि एफएनसीसीआईको भन्दा नेपाल चेम्बरकै चल्ती थियो । जहाँ पनि चेम्बर, त्यत्रो भवन, त्यत्रो आम्दानी भनेर चर्चा हुन्थ्यो । जिल्लाबाट आउने उद्योग वाणिज्य संघ पनि हामी (नेपाल चेम्बर) लाई भेट्न आउँथे । महेश अग्रवाल अध्यक्ष रहेको बेला हामीले भ्याटको आन्दोलन गरेका थियौँ । त्यतिबेला म उपाध्यक्ष थिएँ, मेरै नेतृत्वमा अघि बढेको त्यो आन्दोलनमा सबैलाई समेटेर व्यापक सहभागिता गराएका थियौँ । १२ दिन काठमाडौं र ४५ दिन जिल्ला बन्द गरेका थियौँ । यस्ता कामले चेम्बरलाई नयाँ पहिचान मात्रै होइन जीवन्त राख्न ठूलो योगदा पुगेको छ ।
अर्को कुरा, एफएनसीसीआई र नेपाल चेम्बर समानान्तर पनि कहिल्यै बनेन । उहाँहरूले उद्योग र हामीले वाणिज्य हेर्ने बुझाइ हामीबप्च रहँदै आएको छ । एफएनसीसीआईको सहभागिता र उपस्थिति रहेको ठाउँमा चेम्बरको पनि रहँदै आएको छ । समयक्रमसँगै वस्तुगत र एसोसिएटको माध्यमबाट एफएनसीसीआई अलि ठूलो हुँदै गयो, तर यी दुई संस्थाबीच ठूलो–सानोको सोच नराखी सहकार्य हुँदै आएको छ, समस्या कहिल्यै आएको छैन ।
भनिन्छ, चेम्बरको इतिहासमा तपाईँको कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध सबैभन्दा ‘एग्रेसिभ’ थियो । आजचाहिँ चेम्बर कसरी अघि बढिरहेको छ ?
उद्योग–व्यापारसँग सम्बन्धित समस्याहरू समाधानका लागि सरकारसँग समन्वय गर्नु नै यो संस्थाको मुख्य लक्ष्य, उद्देश्य र कर्तव्य हो । त्यस अनुसार यसले आफ्नो स्थापनादेखि हालसम्मै कुनै कसर बाँकी राखेको छैन । एकपछि अर्को उत्तराधिकारीहरूले यो संस्थाको लक्ष्य, उद्देश्य र कर्तव्यमा कतै चुकेजस्तो मलाई लाग्दैन । कतिपय कामको परिणाम तत्काल आउँदैनन् । समयलाई पर्खिनुपर्छ, गलत खालको टिकाटिप्पणीले केही अर्थ राख्दैन ।
नेपालको व्यापारिक नीति (ट्रेड पोलिसी) निर्माण गर्दा पर्दा पछाडि धेरै खेलहरू हुन्छन् रे । तपाईँ अध्यक्ष रहँदा व्यापारिक घराना र राष्ट्रिय अर्थतन्त्रको स्वार्थबीच कसरी सन्तुलन मिलाउनुभयो ? कुनै त्यस्तो क्षण छ जहाँ तपाईँले ठूला घरानाको दबाबलाई लत्याउनुभएको थियो ?
म व्यक्तिगत स्वार्थ नराखी काम गर्छु, जुन कुरा यस क्षेत्रका दिग्गजहरूले नै भन्दै आउनुभएको छ । त्यतिबेला पनि मन्त्री र सचिवहरूसँग अत्यन्तै नजिक रहेर मैले काम गरेको छु । मलाई आफू नेतृत्वको संस्था चेम्बरकोबाहेक अरुको व्यक्तिगत हित गर्नुपर्छजस्तो कहिल्यै लागेन । त्यसकारण तपाइँले उठाउनुभएको प्रसङ्ग अनुसार कुनै पनि व्यापारिक घरानाहरूको दबाब महसुस गरिनँ । व्यक्तिको हित हुनेगरी हामीले कहिल्यै कुनै सिफारिस र मुद्दा उजागर गरेनौँ । त्यसबाट मसँग कतिपय साथीहरू रिसाउनुभएको पनि होला । तर, नेतृत्व गर्दा सबैलाई चित्त बुझाउन सकिदैन भन्ने कुरामा स्पष्ट छु । मेरो दृढ विश्वासका कारण कसैलाई चोट परेको भए अहिले पनि माफी चाहान्छु, किनकी मैले मेरो सोच र शैली बदल्न सकिन त्यसैले तपाइँ मर्कामा पर्नुभएको हुनसक्छ ।
चेम्बर अभियानमा लाग्दा तपाईँले आफ्नै व्यवसायलाई कति ‘सेक्रिफाइस’ गर्नुभयो ? संस्था बलियो बनाउँदा व्यक्तिगत लाभ गुमाउनुपरेका अनुभवहरू हामीलाई सुनाउन सक्नुहुन्छ ?
तपाइँको यो प्रश्नप्रति मेरो झट्ट जवाफ ‘सबै ठिक छ’ भन्ने नै हुन्छ । तर, यसको चर्चा गरेर साध्यै छैन । हुन त म चेम्बरको नेता भइराख्दा मेरो बुबा र भाइले व्यवसाय हेर्नुहुन्थ्यो, तर आफूले सञ्चालन गरिरहेको पेसा–व्यवसाय अरुले सम्हाल्नुमा धेरै फरक पर्दोरहेछ ।
बिहानदेखि बेलुकासम्म चेम्बरमा समय बिताउँदा व्यापार मात्र होइन घरपरिवार समेत मसँग रुष्ट थियो । घरको कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउँदै चेम्बरका सदस्यहरूको हितका निम्ति निरनतर अघि बढिरहेँ । अखबारहरूमा आएका चेम्बरसम्बन्धी समाचारहरूले आफ्नो व्यवसाय र परिवारको तनाव कम गरी मनलाई प्रफुल्ल बनाउँथ्यो । त्यसैमा खुसी हुने कोशिस गर्थेँ ।
तपाइँको नेतृत्व कौशलका कारण नेपाल चेम्बर अब केवल ‘काठमाडौं केन्द्रित व्यापारीहरूको क्लब’ मात्र रहेन । तर, वास्तवमा मोफसलका साना व्यापारीले चेम्बरको सदस्यता लिएर के पाए त ? यसको वास्तविक धरातल के हो ?
नेपाल चेम्बर अफ कमर्सले ‘ग्रासरुट’ हेर्ने हो, नामै काफी छ । हुन त चेम्बरमा बैंकर, उद्योगी, इम्पोटर्स, एक्सपोटर्स सबै हुनुहुन्छ । तर, म जहिले पनि ग्रासरूटको कुरालाई महत्व दिन्थेँ । नेवारको छोरालाई भाषण गर्न नआउने, जे हो त्यो कुरा सिधा–सिधा बोल्ने कुरालाई लिएर सरकार पक्षका धेरै मान्छे रिसाउनुभएको रहेछ, पछि थाहा पाएँ ।
नेपाल चेम्बर अब केवल काठमाडौंमा सीमित संस्था होइन, देशव्यापी व्यावसायिक प्लेटफर्म बनेको छ । चेम्बर देशव्यापी भएसँगै त्यसको लाभ मोफसलका व्यापारी–व्यवसायीले प्रशस्त पाउनुभएको पनि छ । मोफसलका साना व्यापारीले सदस्यतामार्फत नेटवर्क विस्तार, नीतिगत वकालतमा पहुँच, तालिम तथा सूचना सुविधा र आफ्नो समस्या केन्द्रसम्म पुर्याउने अवसर पाउनुभएको छ । यद्यपि, यी लाभहरू अझै पूर्ण रूपमा सबैसम्म समान रूपले पुगिसकेको छैन, जसलाई थप प्रभावकारी बनाउन हामी निरन्तर काम गरिरहेका छौँ ।
अबको १० वर्षमा नेपालको अर्थतन्त्र ‘ट्रेड बेस्ड’ बाट ‘प्रोडक्सन बेस्ड’ मा जान्छ कि जाँदैन ? उत्पादनमा जानका लागि चेम्बरसँग कुनै त्यस्तो ठोस मार्गचित्र छ ?
१० वर्ष होइन हामीलाई एक वर्षमै ‘प्रोडक्सन बेस्ड’ मा जानु छ । अहिले जुन जोश र रफ्तारका साथ नयाँ सरकार आएको छ, त्यसले १० वर्ष होइन एक वर्षमै यो परिणाम दिनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि चेम्बरले समस्या र सुझावका विषयहरू बारम्बार सरकारसमक्ष प्रस्तुत गर्दै आइरहेको छ, चेम्बरको मार्गचित्र नै त्यही हो । त्यसलाई कार्यान्वयन गर्नुभयो भने देशको अर्थतन्त्रलाई ‘ट्रेड बेस्ड’बाट तत्काल ‘प्रोडक्सन बेस्ड’ मा लैजान सकिन्छ ।
तर, केही शर्तहरू छन् । हाम्रो देशको भौगोलिक, सांस्कृति र सामरिक परिस्थिति हेर्नुपर्छ । उद्योग स्थापना गर्ने भनेर जे पनि गरेर हुँदैन । केको उद्योग गर्दा राम्रो हुन्छ त्यसको पहिचान महत्वपूर्ण कुरा छ । अहिले हामीसँग सि–पोर्ट छैन, लजिष्टिक ट्रान्सपोर्ट महङ्गो छ, ट्रेन सर्भिस छैन, समुद्रसँग पहुँच पनि छैन, जुनसुकै खाले उद्योग सञ्चालन गर्न कच्चा पदार्थ पनि छैन । यी विषयलाई विश्लेषण गर्दा हामीसँग जे उपलब्ध छ त्यसमा काम गर्नुपर्छ भन्ने धारणा अघि सार्दै आएको छु ।

हामीसँग जलस्रोत छ, विद्युत् उत्पादन गरी बिक्री (निर्यात) गर्न सक्छौँ । यस्तै, पर्यटन, कृषि र हर्बललगायतको कच्चा पदार्थ हामीसँग छ । हामीसँग भएका यिनै कच्चा पदार्थहरूमा आधारित उद्योग–व्यवसायलाई सरकारले प्रवद्र्धन गर्नुपर्छ । यसैगरी माइन एण्ड मिनरल, सूचना प्रविधि (आईटी) लगायत क्षेत्रमा हामीले ‘फुल फ्लेज्ड’ उद्योग र लगानी ल्याउनुपर्छ । जसले यहीँका जनशक्तिलाई सिप अनुसार रोजगारी सृजना गरोस् र औद्योगिक उत्पादनमा अतिरिक्त मूल्य सृजना (भ्यालु एड) पनि गरोस् । शतप्रतिशत कच्चा पदार्थ बाहिरबाट ल्याएर गरिने ‘एसेम्ब्लिङ’वाला उद्योग नेपाललाई आवश्यक र उपयुक्त छैन । एउटा उपभोक्ता पनि भएर हेर्दा अहिले कतिपय स्वदेशी उद्योगका उत्पादन भन्दा आयातित तयारी वस्तुको मूल्य निकै सस्तो भइरहेको पाइन्छ । यखि यस्तो अवस्था जारी रह्यो भने हामीले सञ्चालन गर्ने उद्योगहरूले अर्थतन्त्रलाई फाइदान पुर्याउन सक्दैन ।
तपाईँ त अहिले पनि सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले चेम्बरको कार्यकारी टीमसँगै हुनुहुन्छ । तपाइँको नजरमा चेम्बरको इतिहासमा सबैभन्दा सफल र सबैभन्दा कमजोर मोड कुन थियो ?
मेरो अनुभवमा सरकारले ल्याएको भ्याटको नीतिमा संशोधन गर्न नेपाल चेम्बर अफ कमर्स धेरै सफल भयो । चुङ्गे कर खारेज गर्न सफल भयौँ, संविधानको संशोधन नै गराएर निजी क्षेत्रका धेरै विषयवस्तु समावेश गर्न सफल भएका थियौँ । राजस्वको कुरामा सरकार पहिल्यै राजस्व उठाएर सुरक्षित रहन खोज्छ, हामी दायरा बढाएर रोजगारी सृजना होस् र बढी राजस्व सङ्कलन पनि होस् भन्ने चाहान्छौँ, यो कुरा सरकारलाई मन पर्दैन । यद्यपि, नवगठित सरकार र नयाँ अर्थमन्त्रीले धेरै कुरा बुझ्ने विश्वास लिएका छौँ ।
चेम्बर यात्राका क्रममा सरकारले निजी क्षेत्रको मुद्दा दबाउन खोजेको कुनै वार्ता वा द्वन्द्वको घटना सम्झना छ ? त्यसको व्यवस्थापनको पाटो कस्तो रह्यो ?
कर कार्यालयमा बढी नै द्वन्द्व सृजना हुन्थ्यो । कुरा बुझाएपछि समस्या सुल्झिन्थ्यो । उदाहरणका लागि कालोबजारी वा न्यून बीजकीकरणमार्फत राजस्व छली भएको आशङ्का गर्दै आपूर्ति विभागले २०७४ को भदौमा दरबारमार्गका ब्रान्डेड स्टोरहरू सिल गरेको थियो । त्यसबेला मैले एक–दुई दिनमै सरकारलाई सम्झाएर सिल खोल्न सफल भएको थिएँ ।
बाहिर देखिने र भित्रको वास्तविकता फरक पर्ने सरकारी कुनै निर्णय सम्झिनुपर्यो भने ?
अरु निर्णय ठिकै ठिकै हुन्थ्यो तर बजेटमा यस्तो समस्या धेरै हुँदै आएको छ । बजेट वक्तव्य एउटा र आर्थिक अध्यादेशमा अर्कै विषय समावेश गरिएको घटना धेरै छन् । बजेट वक्तव्यमा ठिक लागेर स्वागत गरिसकेको विषयमाथि ध्यानाकर्षण गराउन कयौँ पटक मन्त्रालय धाउनु परेको छ ।
नेपालमा नीति निर्माणमा प्रभावशाली व्यावसायिक समूहहरू हाबी हुने गरेको चर्चा सधैं हुन्छ । तर तपाइँहरू जहिल्यै हाम्रा कुरा सरकारले सुनेन मात्रै भन्नुहुन्छ । वास्तविकता के हो ?
नीति निर्माणमा उद्योगी–व्यवसायी हाबी हुने भन्ने कुरा सत्य होइन । हामीले मुलुकको आर्थिक स्थिति सुधार्न र प्रवद्र्धन गर्नका लागि भनेर बारम्बार सुझावहरू दिइरहेका हुन्छौँ । ती सुझावहरूले नीतिनिर्माणमै प्रभाव पार्छ भन्ने कुराको बुझाइ मेरो विचारमा ठिक होइन र त्यसो भन्न पनि मिल्दैन । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर उनीहरूले दिने सुझावलाई सकारात्मक रूपमा अघि बढाउन सक्ने हो भने देशको विकास सम्भव छ, राजस्व बढ्छ, रोजगारी सृजना हुन्छ र मुलुक समृद्धिको बाटोतिर लम्किन्छ ।
विगतमा हामीले दिएका सुझावहरू कार्यान्वयन गर्दै अघि बढेको भए मुलुकको आर्थिक स्थिति अहिले धेरै राम्रो बनिसकेको हुने थियो । निजी क्षेत्रले दिएको सुझाव के हो, के होइन भनेर खुलारूपमै जाँच गर्न सकिने युगमा हामी छौँ, वास्तविकता बुझ्नतिर नलागेर खाली शङ्का मात्रै गरेर हुँदैन । उद्योगी–व्यवसायीले दिएको भन्दैमा त्यो सुझाव गलत भइहाल्छ भन्ने सोच विगतमा रहँदै आयो तर अबचाहिँ नरहोस् ।
चेम्बर अभियानको इतिहासमा तपाइँ महत्वपूर्ण व्यक्ति हो । यदि चेम्बरको १०० वर्षे इतिहास लेखिँदा तपाईंको एउटा निर्णय मात्र समेटिने अवस्था आयो भने कुन रोज्नुहुन्छ ?
विज्ञान, प्रविधि र समयको तीव्र विकासलाई दृष्टिगत गरेर हेर्ने हो भने १०० वर्षसम्म पुग्दा हाम्रो कार्यकालको केही पनि कुरा आउलाजस्तो मलाई लाग्दैन । किनभने इतिहास अभिलेखीकरण गर्ने, पढ्ने, लेख्ने र जान्ने कुरालाई हामीले महत्व दिन छोडिसकेका छौँ । मेरो विचारमा चेम्बर १०० वर्ष पुग्दा कसैले केही गर्यो भने त्यही वरिपरिको कुरा मात्रै गर्छ, यति पुरानो अवस्थासम्म आइपुग्दैन । यदि आयो भने हाम्रो बुद्धिले भ्याएसम्म तयार पारिएको दस्तावेजहरू अध्ययन गरेर त्यतिबेलाको नेतृत्वले आवश्यकता र महत्वअनुसार छनोट गर्ने विषय हो ।
तपाईंको कार्यकालमा गर्न नपाएको कुनै काम छ ?
नेपाल चेम्बर अफ कमर्समा चार कार्यकाल अध्यक्ष बनेका कारण मलाई काम गर्ने समय धेरै प्राप्त भयो । उक्त अवधिमा मैले आफूलाई लागेको र यो गर्न पाए हुन्थ्योजस्तो लाग्ने थुप्रै काम गरेँ भन्ने लाग्छ । त्यतिबेलाको समयले मागेको र खोजेको काम पूरा गरेँ । त्यसकारण योचाहिँ बाँकी छ भन्ने मलाई लाग्दैन । काम गर्ने अवसर बढी पाएकाले पनि बाँकी नरहेको होला ।
पुराना दलको सरकार हुँदा ‘जस्तो माहोल, उस्तै व्यवहार’ गर्दै आउनुभएका उद्योगी–व्यवसायीहरू नयाँ सरकारबाट उत्साहित भए पनि भित्रभित्रै त्रसित भएको चर्चा गरिन्छ नि ?
नयाँ सरकार आएपछि उद्योगी–व्यवसायी डराउने भन्दा पनि उत्साहित भएको मैले पाएको छु । एकाध मानिसलाई डर हुन पनि हुनसक्छ, अब उहाँहरूले पनि आफूलाई नयाँ सिस्टममा ढालेर अघि बढ्नुपर्छ । सब ठिकठाक हुन्छ ।
अन्तिममा, केही थप्न चाहानुहुन्छ ?
नयाँ सरकार आएको छ, आम नेपालीहरू उत्साहित छन् । यो सरकारले ठूला–ठूला होइन साना–साना काम गरेर जनताको थप मन जित्ने अवसर प्राप्त गरेको छ । सोही अनुसार ‘एक्सन’ पनि सुरू भइसकेको देखिन्छ । यसलाई हामी उद्योगी–व्यवसायी मात्र होइन सम्पूर्ण नेपालीहरूले अति सकारात्मक रूपमा लिएका छौँ ।
मेरो व्यक्तिगत विचारको कुरा गर्दा, यो सरकारले अनावश्यक विदा कटौती गर्नुपर्छ, विदा धेरै भएर कामै भइरहेको छैन । सडक सुरक्षा र अनुशासनलाई दृष्टिगत गरी ट्राफिक जरिवानालाई कडाइ गर्नुपर्छ । नारायणहिटी वरिपरिको पर्खाल ८ फिटजति भित्र सारेर चारैतिर बाटो फराकिलो बनाउनुपर्छ ।
त्रिपुरेश्वर, सोह्रखुट्टे, महाराजगञ्ज र गौशालालगायत मुख्य–मुख्य क्षेत्रमा बाटो फराकिलो गरी काठमाडौं उपत्यकाको सवारी आवागमन सहज बनाउनुपर्छ, जसले ढुवानी खर्च र समय बचाउन सकिन्छ । हामीले मन्त्री र सचिव भेट्नै नपरोस् अनलाइनबाट सबै काम होस् । नचाहिने काम गर्नेलाई डर र त्रास भइरहेको छ, सबै क्षेत्रमा काम गर्ने वातावरण बनाउनुपर्यो । जेन्युन काम गर्न जेन्युन नीति आउनुपर्छ ।