काठमाडौं,कार्तिक २२- जिल्ला अदालत काठमाडौंले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको प्रहरीले जनाएको छ।
हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरु दुबैलाई जिल्ला अदालत काठमाडौं लगेको थियो।
बिहीवार सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै परिसर र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । देशबाहिर रहेका उनी बिहीवार स्वदेश फर्कंदै गरेको सूचनाका आधारमा परिसरको टोली साँझ नै विमानस्थल पुगेको थियो ।
जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा उनलाई पक्राउ आदेश दिएको थियो । तर, अदालतको आदेशविरुद्ध निषेधाज्ञाको माग गर्दै ज्योति सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले मंसिर २४ मा उनलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।
तर, मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलाशले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रीट निवेदन खारेज गरिदिएपछि प्रहरीले जिल्ला अदालतको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेको हो ।
