काठमाडौं, वैशाख २१ – सानिमा बैंकले अन्तरीक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालका विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटेलाइट ‘नेपालीस्याट–२’ अन्तरीक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरीक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।
सो टोलीलाई नेपालको पहिलो अन्तरीक्ष ‘नेपालीस्याट–१’ को निर्माण तथा प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’को रुपमा नेतृत्व गर्दै आएका छन् । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपालीस्याट–२ विद्यालय’नामक स्याटेलाइट निमार्णका लागि एउटा टीम निर्माण गर्ने छन् ।
जसअन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘नेपालस्याट–२’ मा संलग्न दुई जनालाई अन्तरीक्ष निर्माण तथा प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ ।
देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासका लागि सहयोगस्वरुप अन्तरीक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरीक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरीक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं उपत्यकाबाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ वटा शाखाहरु, १७ वटा विस्तारित काउन्टर र ९६ वटा एटीएम रहेका छन् ।
FACEBOOK COMMENTS