काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरू गर्ने निर्णय गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरू गर्ने निर्णय गरेको हो ।
सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ ।
यसअघि एसईईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरू हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको नतिजा चाडै प्रकाशन भएकाले पठनपाठन पनि समयमै सुरू गर्न लागेको हो ।
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ ।
