काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको बताएका छन्। काठमाडौंको भित्री शहरका ११ वटा वडामा पदयात्रा गरेपछि उनीहरुल्े यस्तो प्रतिक्रिया दिएका हुन्।
शनिबार काठमाडौंको भित्री शहरका वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एकै पटक पदयात्रासहितको घरदैलो कार्यक्रम गरेका हुन्। नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाका अनुसार हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो।
मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा सहभागी उम्मेदवारलाई स्वागत गरेका थिए भने केही ठाउँमा सगुन खुवाएर विजयीको शुभकामना दिएको अध्यक्ष देउजाले जानकारी दिए। जैशीदेवल नजिकै पदयात्रासहितको ¥याली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले खुशी हुँदै मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जितको शुभकामना दिएका थिए। हातमा बोकेको नेवारी सगुन अर्थात अण्डा, माछा, रक्सीसहितले मोतिदेवी लगायतको टीमले स्वागत गर्दा प्यालामा दिएको रक्सी अलिकति मुखमा राखेर मेयर पदका उम्मेदवार स्थापित आफ्नै पारामा मुस्कुराएर भने, ‘आमाको हातबाट सगुन खायौँ अब जित सुनिश्चित भयो ।’
प्यालामा दिएको रक्सी मेयरले अलिकति मुखमा राख्दा छेउमै रहेकी उपमेयरकी उम्मेदवार डंगोल थोरै मुस्कुराइन् । उनले पनि मेयर पदकै उम्मेदवार स्थापितको बोलीमा लोली मिलाउँदै भनिन्, ‘म वडा–२१ कै मतदाता हुँ, यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले हामी थप उत्साहित भएका छौँ । हाम्रो जित सुनिश्ति छ।’
त्यसो त जैसीदेवल आसपासमै भेटिनु भएकी ज्ञानुदेवी महर्जनले पनि बृद्धबृद्धाको रेखदेख गर्ने पार्टी एमालेका उम्मेदवारलाई आफ्नो घर–दैलोमै भेट्दा खुशी लागेको भन्दै जितको शुभकामना दिएकी थिइन्। पुरानो र रैथाने नेवारहरुको बस्तीको उत्साहजनक सहभागिताले जित सुनिश्चित भएको प्रतिक्रिया अन्य वडाका उम्मेदवारहरुले पनि दिएका छन्।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्षसमेत रहेका काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ का संयोजक ईश्वर पोखरेलले उद्घाटन गरेपछि सुरु भएको पदयात्रामा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा सदस्यहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मेयर र उपमेयरका उम्मेदवारले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउने सपना बोकेको भन्दै सपना पूरा गर्न सूर्य चिन्हमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए। उनले एमालेले उम्मेदवारहरुलाई घर–घरमा गएर एमालेका नीति, कार्यक्रम र उद्देश्यबारे बुझाउन पनि आग्रह गरेका छन्।
FACEBOOK COMMENTS