काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।
मन्त्रालयगत र मातहतका कार्यालयको बजेटमा छलफल सकिएपछि जवाफका लागि विभागीय मन्त्रीहरुलाई दुई दिनको समय छुट्याइएको छ ।
जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ ।
FACEBOOK COMMENTS