काठमाडौं साउन २८ । सेवाग्राहीलाई मोटरसाइकलमार्फत सहज सेवा दिँदै आएको राइड सेयरिङ एप ‘पठाओ’ले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा सुरु गरेको छ ।
ट्याक्सी सेवा सुरु भएको केही दिनदेखि सामाजिक सञ्जाल तथा मिडियामा भ्रामक समाचार आएको बताउँदै उक्त भ्रमको स्पष्टिकरण दिन पठाओले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेको हो ।
विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा पठाओले गैरकानुनी रुपमा सेवा दिएको र विभिन्न बहानामा सेवाग्राहीमाथि लुटतन्त्र मच्चाएको भन्ने समाचारहरु प्रकाशित भएपछि पठाओले यसबारे सफाई दिँदै प्राइभेट नम्बरबाट ट्याक्सी सेवा नदिएको पठाओले जनाएको छ । कानूनबमोजिम आवश्यक स्वीकृति तथा अनुमति लिएर नै सेवा सुरु गरेको पठाओले दाबी गरेको छ ।
केही दिनअघि सुरु गरेको ट्याक्सी सेवा पनि पठाओ एप्लिकेशन मार्फत नै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोवाइलमा पठाओ एप डाउनलोड गरेर मोटरसाइकललाई आफुले चाहेको ठाउँमा बोलाए जस्तै ट्याक्सीलाई पनि बोलाउन सकिनेछ । यसको भाडादर सरकारले तोके बमोजिम नै हुने बताइएको छ ।
ट्याक्सी सेवा प्रयोग गर्नका लागि बुकिङ चार्ज सय रुपैयाँ लाग्ने छ भने यात्रु ट्याक्सीमा चढेपछि सरकारले तय गरेअनुसारको बिल चढ्न शुरु हुनेछ । ग्राहकको माग अनुसार ट्याक्सी सेवा समेत विस्तार गरेको पठाओले बताएको छ । पठाओले आफ्ना यात्रु र उनीहरुको सामानको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ ।
FACEBOOK COMMENTS