काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय आज सकिँदै छ ।
असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउनु पर्नेछ । आयोगले आज संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ ।
बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई भनिसकेको छ । सोही अनुसार दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्न लागेका हुन् ।
बन्दसूचीमा कुनै उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने सक्ने छ । दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगले जनाएको छ ।
आयोगका अनुसार असोज २० देखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS