काठमाडौँ । आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।
घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठहर्याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँमध्ये छ हजार रुपैयाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपैयाँ परोपकार संस्था, दुई हजार रुपैयाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपैयाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय गर्यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य थिए ।
कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो ।
कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि गर्यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपैयाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो ।
हैजा थामिएकै थिएन । हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौँ र ललितपुरमा क्षमापूजा पनि गरिए । विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो । इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो । सोही सालको साउन १९ गतेसम्ममा ३२ हजार जनालाई सुई लगाइएको समाचार गोरखापत्रले छाप्यो ।
साउन २९ गते गोरखापत्रले झिँगा मार्ने काममा सर्वसाधारण जनताले निकै उत्साह देखाएको खबर छापेको थियो । खबरमा अगाडि लेखिएको थियो, “झिँगा मार्ने काममा खासगरेर १४ वर्षमुनिका केटाकेटीले निकै सहयोग गरेका छन् । काठमाडौँ नगरपालिकामा झिँगा बुझाउन ल्याउने ८० प्रतिशत केटाकेटी छन् ।” साउन २७ गतेसम्ममा काठमाडौँ नगरपालिकाले छ पाथी चार माना झिँगा किनी नष्ट गरिसकेको थियो । झिँगा दिउँसो १ देखि ५ बजेसम्म किन्ने गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS