काठमाडौँ — सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी दिनमा दुग्ध उत्पादक सहकारीमार्फत संकलन हुने मिसावटयुक्त दूध नष्ट गर्ने निर्णय गरेको छ ।
भदौदेखि डीडीसीले बासी दूधको आयु बढाउन प्रयोग गरिने न्युट्रलाइजरहरू कास्टिक सोडा, चिनी, नुन, माल्टोज, गुलकोजलगायतका मानव स्वास्थ्यलाई हानिकारक रासायनिक तत्त्व भेटिएमा त्यस्तो दूधलाई तत्काल नष्ट गर्ने र रकम पनि भुक्तानी नदिने डीडीसीको सञ्चालक समितिका विषय विशेषज्ञ सदस्य डा. विशाल बाँस्तोलाले बताए ।
‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहको केन्द्रीय प्रयोगशाला र राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधिको रोहबरमा दूषित र मिसावट दूध नष्ट गर्ने निर्णय गरेको पनि उनले बताए ।
पहिलो चरणमा दैनिक ५ हजार लिटर दूध डीडीसीलाई बिक्री गर्दै टीएस (टोटल सोलिड) शीर्षकमा प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त पाउँदै आएका दुग्ध उत्पादक सहकारीको दूध जाँच्ने भनेको छ ।
यसैबीच डीडीसीले गुणस्तरहीन र मिसावट भएको दूध बुझ्ने कर्मचारीलाई पनि निलम्बन गर्ने नियम बनाएको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS