विराटनगर । भारतीय भन्सारले जाँचपास गरी नेपाली बाटो हुँदै भारतको भीमनगर नाकाबाट लैजान लागेको सुपारी प्रहरीले दुःख दिने नियतले नियन्त्रणमा लिएको पुष्टि भएको छ ।
अदालतमा रहेको मुद्दा फिर्ता भई भन्सार विभागले ‘रिरूट भएर जान दिनू’ भन्ने आदेश दिएपछि असोज १३ गते ८ करोड ६३ लाख ८१ हजार मूल्यको २ लाख १९ हजार ५९६ किलो ९आठ ट्रक० सुपारी निकासी भएको हो । मोरङ प्रहरीले जोगवनी भन्सारबाट नेपाल प्रवेश गरेको सुपारी विराटनगरको रानीबाट साउन ५ गते नियन्त्रणमा लिएर साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालय इहटरीका प्रमुख तीर्थराज खनालका अनुसार अदालतबाट मुद्दा फिर्ता भएको कागजात, भन्सारले पठाएको कागजात र अनुसन्धानको रायसहित विभागमा पत्राचार गरेपछि विभागले ‘रिरूट हुन दिनू’ भन्ने लिखित आदेश दिएको र आठ ट्रक सुपारी छाडिएको हो ।
खनालले भने, ‘भारतीय भन्सारले जाँचपास गरेर सील गरिसकेको सुपारी खोलेर अनुसन्धान गर्ने अधिकार नभएको कारण बाहिरी प्रक्रियामा कुनै त्रुटि छ कि भनेर मात्र अनुसन्धान गर्यौं र पछि विभागले रिरूट हुन दिनू भन्ने आदेश दिएकाले छाडिएको हो ।’
झापा उद्योग वाणिज्य संघले जारी गरेको उत्पत्तिको प्रमाणपत्रका आधारमा झापामा फलेको सुपारी आठओटा भारतीय ट्रकमा लोड गरी विराटनगर भन्सारबाट निकासी भई भारतीय भन्सार जोगवनीबाट समेत जाँचपास गरी सील लागेको थियो । उक्त सुपारी भारतको मिरगञ्जमा पुल भासिएको कारण सुनसरीको भण्टाबारी हुँदै भारतको भीमनगर नाकाबाट निकासीका लागि रिरूट गरिएको थियो ।
सुपारी निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले १ हप्ताअगाडि उत्प्रेषण परमादेश माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनले रिट फिर्ता लिएपछि विभागले छाड्ने अनुमति दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS