काठमाडाैं । २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लाग भैसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएको भन्दै निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन । आफू निर्वाचित भएका स्थानीय तह वाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत-सवारी साधन, सुरक्षाकर्मी आदि को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहने गरी संलग्न हुन सकिने व्यवस्था रहेकाे आयोगले जनाएकाे छ ।
आचारसंहिता विपरीत कार्य गरेको पाइएमा आयाेगले गर्ने प्रकृया यस प्रकार छ:
१. स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख) लाई निर्देशन दिने । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने ।
२. वृंदा नं. १ बमोजिमको कारवाही प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्ने ।
३. स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने ।
FACEBOOK COMMENTS