काठमाडौँ । बागमती नदी सफाइ कार्य ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने भनाइसँग मिल्दोजुल्दो छ । एक महिनाअघि बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै फोहोर हुने गरेको छ।
जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाइ सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाइ अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको बागमती सफाइ अभियान्ताको अनुभव छ। बागमती सरसफाइ अभियानको ४९३औँ हप्ता सम्पन्न भइसकेको छ। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाभियान सुरु भएको थियो।
बागमती सफाइ अभियानका मुख्य योजनाकार तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बागमतीलगायतका नदीनालामा फोहोर नफाल्न मानिसको आनीबानी र चेतनामा सुधार हुनुपर्ने बताउँदै सफाइ अभियन्ताको प्रयासले मात्र मानिसको आनीबानीमा सुधार नहुने र त्यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको बताए । उनका अनुसार अहिलेसम्म बागमतीबाट २० हजार मेट्रिक टन फोहोर निकालिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS