काठमाडौं । जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिए ।
मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, निर्वाचन आयोग नेपालबाट प्राप्त निर्वाचन सामाग्री प्याकिङ र भण्डारण गर्नुका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम जारी रहेको प्रमुख अधिकारीले बताए। विभिन्न चरणमा राजनीतिक दलसँग अन्तक्रिया, आचारसंहिताका विषयमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गर्नुका साथै निर्वाचन आचारसंहिता अनुगमनको क्रममा देखिएका त्रुटीहरुलाई सच्च्याउने काम भएको छ ।
कार्यालयले निर्वाचनका लागि कर्मचारी खटनपटनका लागि निर्वाचन अधिकृतको कार्यालयमा विवरण पठाइ मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयमा समानुपातिक मत आइपुगेको बताउँदै प्रमुख अधिकारीले प्रत्यक्षतर्फको मतपत्र केही दिनभित्रमा आउने जानकारी दिए। कार्यालयले यही कात्तिक १७ गतेबाट पालिकामार्फत मतदाता शिक्षा कार्यक्रम शुभारम्भ गरिनुका साथै नमूना मतदान कार्यक्रम कात्तिक १६ गतेदेखि विराटनगरको बुधहाट चोकबाट सुरु गर्ने प्रमुख अधिकारीले बताए ।
जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम कात्तिक २२ गतेदेखि सुरु गर्ने र कात्तिक ३० र मङ्सिर १ गतेसम्म मतदान केन्द्र पुग्ने तयारी भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS