काठमाडौँ । लमजुङमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिवार नमुना मतदान गरेको हो ।
नमुना मतदानमा ३८ जना सहभागी भएका थिए । जसमा ९ मत पूर्ण रूपमा बदर भएको थियो भने २९ मत सदर भएको थियो ।
बेँसीसहरको वडा नम्बर ८ फूलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।
नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा ८ वटै पालिकामा नमुना मतदान हुँदै छ ।
स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले बताए ।
जिल्लाका सबै पालिकामा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदान स्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।
कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा , सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो ।
FACEBOOK COMMENTS