काठमाडौं । सेनेगल सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको विजेता घोषित भएको छ ।
खेलकुदसम्बन्धी विवाद निरूपण गर्ने अन्तर्राष्ट्रिय अदालत (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्ट्याउँदै सेनेगलको उपाधि पुनःस्थापित गरेको हो । यससँगै जनवरीमा मैदानमा जितेको उपाधि खोसिएको सेनेगलले पुनः आफ्नो नाममा उपाधि कायम गरेको छ ।
जनवरी १८ मा मोरक्कोको राजधानी रबातस्थित प्रिन्स मौले अब्देल्लाह रङ्गशालामा भएको फाइनलमा सेनेगलले आयोजक मोरक्कोलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलको अन्तिम समयमा मोरक्कोले पेनाल्टी पाएपछि विवाद सुरु भएको थियो। रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडी मैदान छाडेर बाहिरिएका थिए । करिब १५ मिनेटको अवरोधपछि कप्तान साडियो मानेले खेलाडीलाई मैदान फर्काउन भूमिका खेलेका थिए ।
खेल पुनः सुरु भएपछि मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन् । त्यसपछि अतिरिक्त समयमा पापे गुएएले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए ।
तर, मोरक्कोले गरेको उजुरीपछि काफको अपिल समितिले मार्च १७ मा सेनेगललाई फाइनलमा खेल त्यागेको ठहर गर्दै ३–० को प्राविधिक जित मोरक्कोको नाममा दिएको थियो । प्रतियोगिताको नियम उल्लङ्घन गरेको भन्दै समितिले सेनेगलको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो ।

काफको निर्णयविरुद्ध सेनेगल फुटबल महासंघले मार्च २५ मा कासमा अपिल गरेको थियो । सेनेगलले काफको निर्णय खारेज गरी मैदानमा प्राप्त गरेको १–० को जितलाई मान्यता दिन माग गरेको थियो । सेनेगल, मोरक्को र काफका प्रतिनिधिले अक्टोबर ८ मा स्विट्जरल्यान्डको लुसेनस्थित कासको मुख्यालयमा भएको सुनुवाइमा आफ्ना तर्क प्रस्तुत गरेका थिए ।

मंगलबार तीन सदस्यीय न्यायिक समूहले गरेको निर्णयसँगै सेनेगलको उपाधि पुनःस्थापित भएको हो । यसअघि काफले दुवै देशका फुटबल महासंघ, खेलाडी र सेनेगलका तत्कालीन प्रशिक्षक पापे थियाउमाथि १० लाख अमेरिकी डलरभन्दा बढी जरिवाना पनि लगाएको थियो । कासको निर्णयविरुद्ध स्विट्जरल्यान्डको सर्वोच्च अदालतमा सीमित प्रक्रियागत आधारमा चुनौती दिन सकिने व्यवस्था रहेको छ ।

यस निर्णयसँगै अफ्रिकी फुटबलको सबैभन्दा विवादास्पद फाइनलमध्ये एकको उपाधि विवादले नयाँ मोड लिएको छ । सेनेगलले मैदानमा जितेको उपाधि पुनः आफ्नो नाममा कायम गरेको छ ।