महानगरपालिकाले लगायो खुला रूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध
कर्पोरट खबर
6:40 pm, शुक्रबार, कात्तिक २५, २०७९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ ।
खुला रूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले शुक्रवार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । यस्ता कामले देशको राजधानीसमेत रहेको सहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो ।
लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुला रूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ । प्रतिबन्धका बाबजुद यस्ता काम कहीँ कतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS