काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आइतबार सम्मान गरिएको हो ।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले हिमाल आरोहण मृत्युसँगको लडाइँ जस्तै भएको भन्दै आरोहीहरूलाई राष्ट्रको गौरव ठानेर तीनै तहको सरकारले सम्मान गर्नुपर्ने बताए । उनले भने, “सगरमाथा चढ्ने कुरा सामान्य होइन । मृत्युलाई छक्याएर विजयी हुने कुरा असमान्य साहस हो । राज्यका सबै तहका सरकारले गर्व गर्दै उनीहरूलाई सम्मान गर्नुपर्छ ।” सांसद बस्नेतले जीवन र मरणको यात्रा पार गरेर विश्वलाई साहसको परिचय दिने उनीहरू समाजका प्रेरणाका स्रोत भएको भन्दै प्रशंसा गरे ।
इलाम सूर्योदयका शेर्पाले २०७० साल जेठ ६ गते सगरमाथा आरोहण गरेका थिए । त्यसै गरी सोही पालिका निवासी तामाङले २०७९ साल वैशाख ३० गते सगरमाथा आरोहण गरेका थिए । उनहरूले इलामका विभिन्न पर्यटकीय स्थलहरूको तस्बिर सगरमाथाको चुचुरोमा पुगेर फहराउन सफल भएका कारण सम्मान गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल, इलामका अध्यक्ष चन्द्र पाठकले बताए ।
FACEBOOK COMMENTS