काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।
बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२.०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो । २०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।
सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिए ।
उनले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताए । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीव्र रूपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS