काठमाडौं । पुस मसान्त नजिकीएसँगै विभिन्न सूचीकृत कम्पनी साधारणसभाको चटारोमा रहेका छन् ।
बिहीबार पनि विभिन्न ५ वाणिज्य बैंकसहित १० कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । आज सिद्धार्थ, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक बैंकको साधारणसभा रहेको छ ।
यस्तै सोल्टी होटल, नेपाल दुरसंचार कम्पनी, राधी विद्युत कम्पनी, इमर्जिङ नेपाल, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका सभा रहेको छ । सभा बोलाएका कम्पनीमध्ये गत आवको नाफाबाट तीन कम्पनीले लाभांश नदिने भएका छन् ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश, ४.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले कार्की ब्याङ्कवेट, बबरमहल बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सिभिल बैंक
सिभिल बैंकले अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै सो सभाले बोनस शेयर जारी पश्चात बैंकको पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । यसका अलावा हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अनय सम्बन्द्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको संचालक समितिले स्वीकृत गरे बमोजिम सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले होटेल सोल्टी, सोल्टीमोडमा सभा गर्ने भएको छ । सभाले गत आवको नाफाबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.११ प्रतिशत लाभांश पारित गर्नेछ ।
सभाले सिभिल बैंक प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडकै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्नेछ । बैंकले पुष १८ बुकक्लोज गरिसकेको छ । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले २२ औं सभा अग्रवाल भवन, कमलपोखरीमा ११ बजेका लागि बोलाएको छ । सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने,गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सोल्टी होटल
सोल्टी होटलले नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले आव २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल दुरसंचार कम्पनी
नेपाल टेलिकमले राष्ट्रिय सभा गृहमा बिहान १० बजेका लागि सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष ०७८र/९ को नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले रजिष्टार्ड कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभाले गत आवको नाफबाट दिएको ४.७४ प्रतिशत बोनस शेयर र चुक्ता पुँजीको ०.७५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
इमर्जिङ नेपाल
इमर्जिङ नेपालले बानेश्वर ब्याङ्क्वेट, थापागाउँमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सातौं सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
FACEBOOK COMMENTS