काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरेको छ ।
बुधबार नाडाले औपचारिक कार्यक्रम बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ । त्यसै क्रममा नाडाले एक सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको हो ।
कार्यक्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरेको थियो । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए ।
अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र सोहीअनुरुप निरन्तरता दिइने जानकारी दिए । कार्यालय प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि कार्यालयका लागि नाडाबाट सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो । ट्राफिक कार्यालयका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।
FACEBOOK COMMENTS