काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ ।
यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ ।
साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो ।
पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा गौतमले आग्रह गरे । कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउछन् ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ । डा गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS