काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे ।
‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौं । यसलाई हरहालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु, हाम्रो लक्ष्य र कार्यभार हो,’ उनले भने, ‘यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन सरकार दृढ र प्रतिबद्ध छ ।’
उनले शान्तिप्रक्रियाअन्तर्गत पहिलो राजनीतिक कार्यभार संविधान बनाएको, दोस्रो प्राविधिक काम माओवादी लडाकुको समायोजन भएको पनि बताए।
‘तेस्रो संक्रमणकालीन न्यायको काम पूरा गर्न बाँकी छ। यसो भएपछि शान्ति प्रक्रिया सबै पूरा हुन्छ’, उनले भने, ‘यो राजनीतिक परिवर्तन जनताको जनजीविकाको समस्या समाधान गर्न हो। हाम्रो ध्यान समृद्धि र विकासतिर छ।’
उनले आफूहरुले गरेका संघर्षका बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको बताए।
‘जुन उद्देश्यले संघर्ष गर्यौँ, तिनलाई पूरा गर्न आएको हो’, उनले भने, ‘हामीले तीव्र गतिमा आर्थिक फड्को मार्न सकेनौँ। तर निराश हुनुपर्ने, हतास हुनुपर्ने पनि अवस्था छैन।’
उनले सरकारले अब सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा केन्द्रित भएर काम गर्ने बताए ।
FACEBOOK COMMENTS