काठमाडौं । सरकारी वार्ता टोलीले आज पनि मिटरब्याज पीडितसँग वार्ता गर्ने भएको छ ।
आइतबारदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग सरकारी वार्ता टोलीले वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आइतबार पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।
दुवै तर्फका वार्ता टोलीबीच आज १० बजे गृह मन्त्रालयमा वार्ता हुने भएको छ । यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका थिए ।
मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।
FACEBOOK COMMENTS