काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौ–तराई–मधेस द्रुतमार्ग फास्ट ट्र्याक समयमै बन्ने विश्वास व्यक्त गरेका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग ९फास्ट ट्र्याक० को अवलोकन एवं निरीक्षण गर्दै उनले यस्तो बताए । द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम द्रुतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
सरकारले सहजीकरणको पाटोमा कुनै कमी नराख्ने बताउँदै जनभावना अनुरुप निर्माण प्रक्रिया भइरहेको पाएको उनले जनाए । नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएर सही निर्णय गरेको महसुस भएको उनको भनाइ छ । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिए ।
“हिजो मात्रै काठमाडौँमा ब्रिफिङ भएको थियो ।
हामी आज निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हे¥यौँ । ठूलो टनेल बन्दै छन्”, उनले भने । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णय गरिने जनाए । उनले भने, “द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ ।” आयोजनाको जिम्मेवारी आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई दिएको समेत उनले स्मरण गर्दै राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको जनाए ।
FACEBOOK COMMENTS