झापा । झापा हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा र भात नेपालतिरै खान्छन् । बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन् ।
यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो । बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौँ बिघा जग्गा रहेको यो नेपाली भू–भाग टापुजस्तो अवस्थामा मेचीपारि छ । यहाँ नेपाली खेतमा भारतीय नागरिक आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आएका छन् ।
भारतको पश्चिम बङ्गाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय वासुदेव मुर्मूले विगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताए । उनले तीन बिघा जग्गामा यसपालि पर्वल, करेला र लौका खेती गरिरहेका छन् ।
हरेक दिन कामदार लिएर उनी भारतबाट नेपालतिर आउँछन् । वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उनलाई थाहा छैन । तर धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक १० हजार भाडा उठाउने गरेको उनले बताए । “यसपालि पर्वलखेती राम्रो फस्टाउला भन्ने आशा छ”, तरकारीका बिरुवा गोडमेल गर्दै मुर्मूले सुनाए, “आकाशे पानी पनि राम्रै परिरहेको छ । बजारभाउ बढ्यो भने निकै नाफा हुन्छ होला ।”
मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन् । एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन् । नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ ।
विसं २०१८ देखि ग्वालाबस्तीमा बसोबास गर्दै आएका ८२ वर्षीय राजेन्द्र यादवले बस्तीमा विकासे पूर्वाधार केही नभएका कारण बसाइँ हिँड्ने क्रम बर्सेनि बढ्दै गएको बताए। बसाइँ हिँड्ने बढेपछि बस्तीका कतिपय खेत बाँझै रहने गरेका छन् । त्यही भएर सीमापारिका मान्छेहरूले नेपाली खाली भू–भागमा आँखा लगाउन थालेको स्थानीयवासी बताउँछन् ।
बसाइँ सरेर मेचीवारि आएकाहरू खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन् । बरु भाडामा खेती गर्न आउने भारतीयलाई नै जग्गा दिने गरेको यादव बताउँछन् । बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक मुर्मू बताउँछन् । सो बस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ । पाकेको बालीसमेत उनीहरू ट्र्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन् ।
“तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौँ”, उहाँले भन्नुभयो, “नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरू हारालुछ गर्छन् ।” कहिलेकाहीँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटङ्की र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उनले जानकारी दिए ।
ग्वालाबस्तीमा पाँच बिघा बगरखेती भएका डुक्कु बेस्रा मेचीवारि नै बसोबास गर्छन । मेची नदी तरेर जाने झन्झट उठाउनुको साटो उहाँले पनि भारतीय नागरिकलाई नै जग्गा भाडामा दिने गरे ।
FACEBOOK COMMENTS