काठमाडौं। वैदेशिक रोजगारीका लागि वैधानिक बाटो जानेहरुको संख्या निरन्तर बढेको छ। चालु आर्थिक वर्षको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्।
गत साउनयता ५ लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार ४ सय ८९ महिला गरी कुल ६ लाख २ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रमस्वीकृति लिनेको संख्या हो।
प्रत्येक दिन दुई हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन्।
गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४, फागुनमा ६१ हजार ८ सय ४५ र चैतमा ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ।
सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ।
गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले बढेको छ।
चैतसम्म ३ लाख ८७ हजार ८ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र २ लाख १७ हजार ९ सय ५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ।
चालु आवको नौ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो।
FACEBOOK COMMENTS