काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ ।
विभिन्न पालिकाका प्रमुख र सांसदहरुले कर्मचारी सरुवाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव दिन थालेका छन् । जनप्रतिनिधिहरुको दबाव र कर्मचारी मोहका कारण सामान्य प्रशासन मन्त्रालयले बनाएको कर्मचारी सरुवा मापदण्ड समेत लामो समयदेखि निश्प्रभावी बन्दै आइरहेको छ ।
प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भएपनि विभिन्न पक्षको रुचि र सेटिङका कारण सरुवा विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेल समेत हुने गरेको स्रोतको दावी छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुश्कर पनि जनप्रतिनिधि तथा उच्च तहको राजनीतिक नेतृत्वको दबावका कारण कर्मचारी व्यवस्थापनमा समस्या परिरहेको बताउछन् ।
उनले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवामा सांसद तथा स्थानीय तहकै जनप्रतिनिधिको बढि दवाव आउने गरेको बताए । ‘विभिन्न खालका दबावका कारण सरुवा मापदण्ड समेत लागु गर्न सकिएको छैन, त्यस्ता दबाव रोकिन नसक्दासम्म सरुवालाई व्यवस्थित गर्न कठिन छ,’ सचिव पुश्करले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जिल्लाबाट दिनहुँजसो जनप्रतिनिधिहरु कर्मचारी सरुवाको माग लिएर मन्त्रालयमा आउने गरेका छन् । उनीहरुले स्थानीय तहमा आवश्यक पर्ने प्रमुख प्रशासकिय अधिकृत आफुले भने अनुसारको हुनुपर्ने भन्दै दबाब समेत दिने गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS